नरेश गुप्ता

बरियारपुर,आगामी निर्वाचनमा दलित समुदायको प्रतिनीधित्व बढाउन बारा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

दलित सरोकार मञ्चले राष्ट्रिय दलित पत्रकार संघ बारासँगको सहकार्यमा कलैयास्थित दास गेष्ट हाउसमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलहरुले दलितको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सचिव सिकेन्द्र पासवानको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र कलैया नगर अध्यक्ष मुकेश साहले सदियौँदेखि उपेक्षित दलित समुदायलाई लोकतान्त्रिक पार्टी माओवादीले अवसर दिँदै आएको बताएका छन् ।

साथै दलित समुदायलाई हालसम्मको उपलब्धिलाई बिभिन्न आन्दोलनबाट नै प्राप्त भएको र थप अधिकार प्राप्त गर्न अझ जागरुक हुन आवश्यक भएको बताउनु भएको छ । माओवादी पार्टीले दलितहरुको संख्याको अधारमा वडादेखि पालिकासम्मको अधिवेशन सम्पन्न भएको जानकारी पनि दिनुभएको छ ।

यस्तै नेकपा एमाले बाराका सचिव अध्यानन्द पाण्डेयले बारा जिल्लामा रहेका दलित समुदायको संख्या पत्रकारहरुले प्रकाशन गरिदिए त्यहि अनुसार आउँदो स्थानीय तहको चुनावमा दलित समुदायलाई अवसर दिने घोषणा गर्नुभएको छ । साथै यसअघि पनि दलित समुदायबाट उम्मेदवार बनाउन पार्टी पछि नपरेको स्मरण गर्दै आगामी निर्वाचनमा पनि दलित उम्मेदवारको संख्यामा वृद्धि गर्ने दृढता व्यक्त गरेका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टी बाराका प्रतिनिधि ईमरान आलमले दलित समुदायलाई नै दलित समुदायले सहयोग गर्न आवश्यक भएको बताउनु भएको छ । दलित समुदायले आफ्नो मत बिक्री गर्ने गरेकोले दलित समुदाय पछाडि परेको बताउनु भयो ।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले सर्वप्रथम दलित समुदायले नै नेतृत्व लिन सक्ने आँट गर्नु पर्ने बताउनुभयो । दलितको लागि आरक्षण मात्र दिएर केही सुधार नहुने उहाँले बताउनुभयो । दलित समुदाय अगाडि बढे सहभागिता पनि स्वत बढने उहाँले बताउनुभयो ।

कार्यक्रममा राजनीतिक दल निकट दलित भातृ संगठनका प्रमुख एवम् प्रतिनिधिहरुले आआफ्नो क्षेत्रका समस्याहरु सुनाएका थिए । कार्यक्रममा सहप्राध्यापक डा. बिजयप्रसाद मिश्रले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको संचालन किशोरी रामले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here