काठमाण्डौ – काठमाण्डौ उत्यकासहित देशभरिका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मतपरिणाम आउने क्रम जारी छ ।पछिल्लो विवरणानुसार नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसङ्घले समान ९१ वटा क्याम्पसमा अध्यक्ष पद जितेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले ६५ वटा क्याम्पसमा जितेको छ । स्वतन्त्र र बागी उम्मेदवारले ४ वटा क्याम्पसमा जितेका छन् ।यसैगरी एकीकृत समाजवादी निकट अनेरास्ववियूले ३, विप्लव माओवादी निकट अखिल समाजवादीले २, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रविसङ्घ, मसाल निकट अखिल छैटौं र जनता समाजवादी पार्टी निकट समाजवादी युनियन १÷१ वटा क्याम्पसमा अध्यक्ष पद जितेका छन् ।

त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालत पाटन इजलासले आदेश दिएको छ । नेविसङ्घका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएको हो । यसअघि विवाद हुँदा सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी थियो ।यस्तै पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनाव अनिश्चित बनेको छ । मतपत्रमा प्रत्यक्षतर्फ अनेरास्ववियु (छैटौं) बाट अध्यक्ष पदका उम्मेदवार रहेका मिलन सुनारको नाम छुटेपछि शुरू भएको विवादले मतदान अनिश्चित बनेको हो ।
काठमाण्डौ उपत्यकाभित्रका आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शङ्करदेव, पद्यकन्या, सरस्वती, पब्लिक युथ, पाटनलगायत ११ ठूला क्याम्पसमा भने स्ववियु चुनाव हुन सकेन । हिजो भएको चुनावमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान भएको थियो ।
जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा नेविसंघको प्यानल
रौतहट,रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा मङ्गलवार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।चार विद्यार्थी संगठनले प्रतिस्पर्धा गरेको सो निर्वाचनमा नेविसंघका सभापति उम्मेदवार मोहम्मद नौदास आलमले एक हजार १७४ मत प्राप्तगरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सभापति उम्मेदवार दामोदर उप्रेतीले २०३ मत प्राप्त गर्नुभयो ।

यसैगरी नेविसंघका सचिव शाहिल पुरीले १ हजार १२८ र कोषाध्यक्ष सम्झनाकुमारी चौधरीले १ हजार १४८ मत प्राप्तगरी विजयी हुनुभयो । सदस्यहरुमा विकासकुमार दास, रोहन श्रेष्ठ, रेजिनाकुमारी काफ्ले, पुष्पा कार्की, अर्जुन भट्टराइ, शुशीलकुमार पहरी र रितिक सिंह विजयी हुनुभएको निर्वाचन अधिकृत विनोद तिमल्सिनाले बताउनुभयो ।
उहाँकाअनुसार चुनावी प्रतिस्पर्धामा अखिल क्रान्तिकारी र संयुक्त समाजवादी विद्यार्थी युनियनको पनि सहभागिता थियो ।

Leave a Reply