कोल्हबी,बाराको कोल्हबीमा भूमि समस्या सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कोल्हबी नगरपालिकाको सभा हलमा मंगलवार भएको सो कार्यक्रममा भूमि आयोग बाराका अध्यक्ष भरत घले,मालपोत कार्यालय बाराका प्रमुख शालिकराम ढकाल र नापी कार्यालय बाराका प्रमुख सुबोध यादवले भूमि समस्या सम्बन्धी समस्याको समाधानका लागिसरकारको नीति नियम र आयोगबाट गरिने कामको र सोको प्रक्रियाबारेमा जानकारी दिएका थिए ।
सो छलफल तथा अन्तरक्रिया कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी,भूमि आयोग बाराकी सदस्य कलावती पासवान,कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, उप–मेयर लक्ष्मीकुमारी चौधरी,बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल र कोल्हवी नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरिले नगर क्षेत्रभित्रका भूमिहिन दलित, सुकुम्बासी र अव्यस्थित बसोबासीलाई मात्र भएपनि लालपुर्जा वितरण गर्न सकिएको खण्डमा उपलब्धी हुने भन्दै कोल्हबी नगरपालिकामा तेस्रो चरणसम्मको प्रक्रिया सकिएको र बाँकी रहेको काम द्रुत रुपमा गर्नका लागि वडा कार्यालयहरुलाई सुझाब समेत दिनुभएको थियो ।
कार्यक्रममा कोल्हवी नगरपालिकाका वडा अध्यक्षहरुले आफ्ना वडाका भूमि सम्बन्धी समस्याबारे जानकारी गराउनुको साथै धनीपुर्जाको लागि आवश्यक प्रक्रियाको बारेमा आयोगबाट जानकारी पनि लिएका थिए ।


















