जनकपुरधाम,जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको आफ्नो दललाई फिर्ता बोलाएको छ । सरकारको नेतृत्व गरेको दलले नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएपछि प्रदेश सरकार ढल्ने निश्चित भएको छ ।पार्टीले शनिवार प्रदेश प्रमुखलाई एक पत्र लेख्दै यसबारे जानकारी गराएको हो ।जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले शनिवार मधेस प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । पत्रमा उल्लेख भएअनुसार जनमतले सरकारमा समर्थनसमेत उक्त पार्टीका मुख्यमन्त्री तथा मन्त्रीहरूलाइ फिर्ता बोलाएको छ ।
पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक निर्णयअनुसार मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई बोलाएको पत्रमा उल्लेख गरिएको छ ।
यसैबिच जेनजी आन्दोलन उग्र बनेको बेला भदौ २४ गते राजीनामा घोषणा गरिरसक्नुभएका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूले औपचारिक रूपमा राजीनामा नदिएको दाबी गर्दै पुनः कामकाजमा फर्किने बताउनुभएको थियो । मुख्यमन्त्री पदमा फर्किने उहाँको कदमको चौतर्फी आलोचना भइरहेको छ ।मुख्यमन्त्री सिंहले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनमा फेसबुकमा एक वक्तव्य जारी गर्दै राजीनामा घोषणा गर्नुभएको थियो । उहाँले लेख्नुभएको थियो, “नागरिकको ज्यानभन्दा ठूलो अरू केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।”
तर राजीनामा घोषणाको चार दिनपछि मुख्यमन्त्री सिंहले फेरि सरकारको नेतृत्वमा फर्किने संकेत गर्नुभएको थियो । हालको परिस्थितिमा राजीनामा नदिने उहाँले बताउनुभएको हो । “सिस्टम चेन्जको म स्वागत गर्छु, तर राम हटेर श्याम आउने, श्याम हटेर भरत आउने कुराको पक्षमा म छैन,” उहाँले भन्नुभएको थियो । राजीनामा घोषणाको दिन विषम परिस्थिति र जनधनको क्षति रोक्ने उद्देश्यले फेसबुकमा लेखेको उहाँको भनाई थियो ।
















