अनिलकुमार तिवारी

कोरोना (कोभिड १९) सक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्न थालेको आज शनिबार २१ दिन पुग्यो । सामान्य ज्वरो आउन थालेपछि म केही दिनअघि देखि नै आफै आईसोलेशनमा बस्न थालिसकेको थिएँ ।

पहिलो परीक्षणको ७ दिनपछि नै गर्नु पर्ने मान्यता विपरित मेरो दोस्रो परीक्षण पनि १३ दिनपछि मात्रै भएको थियो । यतिबेला मैले आफुलाई पुर्णरुपमा स्वस्थ महशुस गरिरहेको छु । कोरोनाको कुनै लक्षण र समस्या अनुभुति छैन । दुई सातायता मेरो स्वास्थ्य सामान्य छ । रुघा, खोकी लागेको छैन र शरीरको तापक्रम पनि संन्तुलित छ ।

मलाई लाग्छ म कोरोना जितेर पुर्ण रुपमा ठिक भइसकेको छु । मलाई लाग्छ योबीचमा मेरा धेरै साथी र शुभचिन्तकहरुले जसरी स्वास्थ्य लाभको कामना गर्नुभयो र मलाई हौसला दिनुभयो त्यही कारणले पनि कोरोनालाई पराजित गर्न मलाई यो सफलता मिलेको हो । तर म आफैले स्वस्थ छु भनेर मात्रै नहुने रहेछ । म अझै पनि घरबाहिर निस्केर आफनो पेसमा लाग्न नसक्ने अवस्थामा छु । त्यसैगरी साथी र आफन्तहरुसंगको भेटघाट हुन पाएको छैन ।

दोस्रो पटकको पिसिआर रिपोर्ट प्राप्त गर्न नसक्दा घरबाहिर निस्कन मलाई कठिनाइ भएको छ । यस्तो अवस्थामा बस्नु पर्दा कहिले काही कतै मेरो शरीर र स्वास्थ्यमा मेरो आफनै हक गुमिसकेको पो हो कि जस्तो पनि लाग्छ । यतिबेला म त्यही रिपोर्टको प्रतिक्षामा छु । जसले मलाई घर बाहिर निस्कने वा फेरि भित्रै बस्ने अनुमति दिने छ ।

हुनत्, बारा र पर्सा जिल्ला त्यसमा पनि मेरो संसर्गको वीरगंज महानगरपालिका र जितपुरसिमरा उपमहानगरपालिकामा यतिबेला कोरोनाको माहामारी तिव्ररुपमा फैलिरहेको छ । मलाई राम्ररी थाहा छ । यस्तोबेला बाहिर निस्कनु राम्रो कुरा होइन । तर म एउटा संचारकर्मी जसले आफुलाई सुरक्षित राख्दै गाउँघरमा पुगेर समाचार संकलन गर्नुपर्ने हुन्छ । मेरो र परिवारको जीवीका त्यसैमा टिकेको छ ।

यस्तो अवस्थामा एउटा पिसिआर रिपोर्ट आउन ढिला भएर अनावश्यक रुपमा आइसोलेशनमा बस्नु पर्दाको मेरो पिडा भने अलि फरक छ । अझ पुर्णरुपमा स्वस्थ भइसकेको अवस्थामा पनि यसरी घरमै बस्नुपर्ने बाध्यता मेरोलागि थप पिडादायी छ । म यतिबेला त्यहि आदेशको पर्खाइमा घडी हेरेर बसेको छु ।

जसले मलाई मेरो पेसामा फर्किन आदेश देओस ।
कोरोना संक्रमितहरुले पहिलो पटकको रिपोर्ट आएको दिनबाट गनेर ७ दिनमा दोस्रो पटक चेक गर्नु पर्ने हुदो रहेछ । यहाँ त बरु दोस्रो पटक समयमै जाँच गराउने कुरा त परै जाओस, पहिलो पटक जाँच गरेको ७ दिनपछिमात्रै रिपोर्ट प्राप्त हुन्छ । मेरो पनि चेकजाँच गरेको एक सातापछि मात्रै रिपोर्ट प्राप्त भएको थियो । नेपालको स्वास्थ्य सेवाको अवस्था बारेमा थोरबहुत केही कुरा बुझेको भएर यो विषयमा थप केही भन्ने पक्षमा पनि छैन म ।

संक्रमितको उच्च चाँप र त्यसको अनुपातमा हाम्रो देशमा विद्यमान प्रयोगशाला र जनशक्तिले यो समस्या आएको हो । स्वाब परीक्षणमा हुने ढिलाईले एउटा संक्रमितले निर्धारित समयमा दोस्रो चरणको चेकजाच गर्न पाउने अवस्था छैन यहाँ । खासमा बिरामी भएको १४ दिन पश्चात कोरोनालाई शरीरले पचाँइ सक्छ या कोरोनाका कारण शरीरमा सक्रमण भएको ६ दिनदेखि १० दिनसम्ममा यसले उग्र रुप लिन पनि सक्छ । कहिलेकाही यो समस्या मेरो मात्रै होइन भन्ने पनि लाग्छ र देशभरीका संक्रमितहरुको यही अवस्था देखेर मन बुझाउदै आएको छु ।

नेपालमा धेरैमा देखिएको कोरोनाका माईनर केस अर्थात समान्य असर गर्ने प्रकृतिका छन । यसमा हल्का ज्वरो, सुख्खा रुघा खोकी, टाउको दुख्ने, सुघ्ने क्षमतामा ह्रास आउने, जिब्रोले स्वाद थाहा नपाउने जस्ता लक्षण र समस्या देखा पर्छन । आज कोरोनालाई पराजित गरेको महशुर हुदै गर्दा शायद म पनि त्यस्तै प्रकृतिको संक्रमितमा पर्छु होला जस्तो लागेको छ ।
हाम्रो समाजमा कोरोना एउटा डरलाग्दो भूत जस्तो प्रतीत भएर बसेको छ । जसरी अस्तित्व बिनको भूतले मानिसको मानसपटलमा भय सृजना गर्छ र मृत्युको डिलमा पुर्याउछ ।

त्यसरी नै आज कोरनाले मान्छेहरुलाई आतङ्कित बनाइरहेको छ र धेरैले अनाहकमा ज्यान गुमाउदै छन । संक्रमण हुनअघि मेरो मानसपटलमा पनि केही हदसम्म त्यस्तै कुराले बास गरेको थियो । संक्रमणपछि घरमा बस्दा मैले पनि कोरोनाको बारेमा केही अध्ययन गर्ने फुर्सद पाएँ । यस क्रममा मैले हिजो र आज बुझेको कोरोनामा फरक पाएको छु ।

विज्ञहरुकाअनुसार समान्य लक्षण भएका कोभिड संक्रमितलाई सक्रमण भएको ६ देखि १० दिनसम्म माथिका सबै लक्षण देखा पर्ने र त्यसपछि १४ दिन सम्ममा समान्य औषधि सेवनबाटै निको हुन्छन । भारतका बरिष्ठ चिकित्सक के.के. अग्रवालको भनाइमा यसरी बिरामी भएको दिनदेखि १४ दिनसम्म समान्य हुनेले १५ औँ दिनदेखि समान्य काम समेत गर्न सक्छन । चिकित्सक अग्रवालको भनाइले म जस्तो आईसोलेशनमा बसेको २० दिनसम्म पनि दोस्रो पि.सि.आरको रिपोर्ट कहिले आउछ भन्ने भेग पाउन नसक्नेहरुलाई विचलित तुल्याउनु स्वाभाविक नै हो ।

म आइसोलेसनमा बसेको यत्तिका दिनसम्म पनि कुनै आधिकारिक चिकित्सकले मेरो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने दुख गरेका छैनन । यदि म अस्पतालको आइसोलेशनमा हुन्थ्ये भने शायद केही औषधि र चिकित्सकीय सेवा पनि पाउथे होला । सेवा नपाएकोमा मेरो व्यक्तिगत गुनासो छैन ।

तर पनि आफ्नै घरमा बसेर एक हिसाबले सरकारलाई खर्च भारलाई कम गर्न सहयोग गर्ने म जस्ता हजारौंलाई राज्यले यसरी बेवास्ता गर्नु चाहि हुदैनथ्यो जस्तो लाग्छ । अब फेरि पनि म दोस्रो चरणको रिपोर्ट नेगेटिभ आउने र आफ्नो कार्यमा नियमित फकिर्ने व्यग्र प्रतिक्षामा छु ।

घरको आइसोलेशन
पि. सि. आर चेक गर्न दिएको ५ दिन बितिसकेको थियो । ज्वरो आएर पनि निको भएकोले मलाई कोरोना भएर पनि ठिक भैसकेको होला जस्तो पनि लाग्थ्यो । तर बिडम्बना मेरो पि. सि. आर रिपोर्ट पोजेटिभ आएछ । रिपोर्ट आउनुअघि आफ्नो दैनिकी सहज गर्ने र नियमित काममा फर्किन सोचसहित खाना खाएर आराम गर्दै थिएँ । मित्र दिवाकर भण्डारीको फोन आयो । अरु दिन झै उहाँले रिपोर्ट के आयो भन्ने प्रश्न सोध्नुभयो ।

मैले पनि खै आज ५ दिन भो रिपोर्टको पर्खाईमा बसेको रिर्पाट नै आएको छैन भन्ने जवाफ दिए । एकछिन सोचेर उहाँले भन्नु भयो ‘तपाईको रिपोर्ट पोजेटिभ आयो तर अहिले घरपरिवारकासाथै घरबाहिर कसैलाई नभन्नु होला, तपाईलाई अस्पतालबाट आधिकारीक जानकारी आउने छ ।’ मैले हस भन्दै आफनो भाइको रिपोर्ट बारेमा पनि साचो राखे उसको रिपोर्ट भने निगेटिभ रहेछ ।

साउन ९ गते टाउको भारी भइरहेको थियो । राती ज्वरो आएको जस्तो लाग्यो । घरमा भाइलाई पनि तीन दिनदेखि ज्वरो आएको थियो । भाइसंगै मलाई पनि ज्वरो आएपछि मलाई केही गडबडीको शंका लाग्यो । मैले श्रीमति जीलाई आजबाट मेरो पनि भाई सुत्ने कोठाम सुत्ने ब्यवस्था मिलाइदिन भने उनले पनि त्यसै गरिन । १० गते देखि हामी दाजुभाइ एउटै कोठामा सुत्न बस्न थाल्यौ । त्यहि दिन भाइको सुघंने क्षमता पनि कम भयो । उसको नाकले कुनै पनि वस्तुको गन्ध थाहा पाउन छोडको थियो । अब त हामीलाई झन पक्कै पनि कोरोना संक्रमण भएको होला भन्ने लाग्न थाल्यो ।

कोभिडको लक्षण देखिएपछि मैले चेकजाँच गराउन सबै भन्दा पहिला नारायणी मेडिकलका डाक्टर उदयनारायण सिहंलाई फोन गरेँ । उहाँले नआतिनुस भन्नु भयो र जीतपुरमा कोरोना चेक गर्न सल्लाह दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका बाबुलाल सहनी ज्युलाई मेरो कोरोना चेक गर्नुभयो भनेपछि उहाँले साउन १६ गतेको लागि समय मिलाउनुभयो । १३ गते (कोभिड १९) कोरोना चेक गर्न मागेको समय १६ गतेसम्ममा हामी घरमा पुर्ण आईसोलेशन भएर बसिसकेका थिर्यौ ।

१६ गते पि.सि.आर चेक गराउन जाने दिनसम्म भाइको सुघने क्षमता फर्किसकेको थियो । मेरो पनि ज्वरो आउने लगायतको समस्या पनि लगभग ठिक भैसकेको आभास हुदै थियो । कोभिड १९ चेक गर्न स्वाब पठाएको दोस्रो दिनपछि नै मैले आफुलाई पुर्ण स्वस्थ्य भएको महसुस गरिससकेको थिएँ ।

मेरो रिपोर्टसंगै म भन्दा बढी समस्या भएका र कुनै लक्षण नै नदेखिएकाहरुको पनि पोजेटिभ आयो । यस बारेमा फोन जानकारी गराउदैगर्दा मेरी श्रीमती पनि म संगै थिईन । मेरो रिपोर्ट पोजेटिभ आएकोप्रति उनलाई खासै चिन्ता थिएन । उनलाई पनि राम्ररी थाहा थियो म ज्वारो आएर ठिक भैसकेको थिएँ । तर पनि उनलाई अब घरमा बस्न दिने कि नदिने भन्ने कुरामा भने केही चिन्ता थियो ।

उनले म बिगत १५ दिनदेखि बस्दै आएको जसरी नै घरमै बस्नु पर्छ भनेकी थिइन । मैले पनि सम्बन्धित निकायमा अब घरकै आईसोलेशनमा बस्छु भनेर जानकारी गराए । उहाँहरुले समाजका अरु मान्छेले केही भन्लान कि भनेर प्रश्न गर्नुभएको थियो । र अस्पतालमा बस्दा राम्रो हुन्छ भन्नुभएको थियो ।

मेरा केही शुभचिन्तक र सहयोगी साथीहरुले पनि वीरगंजको कुनै राम्रो अस्पतालमा वा होटलमा आइसोलेशनमा बस्ने व्यवस्था मिलाइ दिने कुरा पनि गर्नुभयो । तर मलाई केही हुदैन भन्ने कुरामा म दृढि थिएँ र त्यही भएर घर बाहिर बस्न मन पनि थिएन । बरु मैले छिमेकीहरुसंग सल्लाहा गरेर घरमै बस्ने निर्णण गरिसकेको थिए ।

छिमेकीहरुले तपाई घरमै बस्नुस हामी पनि सुरक्षित भएर बस्छौ केही हुदैन भनेर हौसाउनु भएको थियो । वास्तवमा यस्तो अवस्थामा छिमेकी र समाजका मानिसहरुको भुमिका अत्यन्तै महत्वपुर्ण हुदो रहेछ । यदि छिमेकीहरुले घरमा बस्न हुदैन हामीलाई पनि संक्रमण हुन सक्छ भनेर दुत्कार्नु भएको भए भए शायद अन्यत्र जानुपर्ने हुन्थ्यो होला ।

यस अर्थमा म मेरा छिमेकीहरुप्रति पनि आभारी छु । जसले मलाई यसरी घरमै बस्न र कोरोना जित्न सहयोग गर्नुभयो । योबीचमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठसंग पनि सल्लाहा भयो । उहाँले पनि घरमा बस्ने व्यवस्था छ भने झन राम्रो हुन्छ भन्नुभयो । यसरी सबैको सल्लाहापछि मेरो आत्मबल झन बढ्यो । र कोरोना जित्न सफल भएको छु ।

सम्भवतः बारा पर्साका केही भिआइपीबाहेक घर आइसोलेशनमा बस्ने म नै पहिलो सर्वंसाधारण मान्छे हुँला । घर आइसोलेशनमा बसिरहदा मबाट मेरो परिवारमा कोरोना सर्न सक्ने सम्भावना पनि उत्तिकै उच्च थियो र कता कता मलाई त्यो कुराको डरसमेत थियो । घरमा बस्ने मेरो निर्णयका कारण मेरो घरपरिवारमा कुनै सदस्य संक्रमीत भएकोभए शायद समाजले आज घर आइसोलेशनलाई नकारात्मक रुपमा नै लिन्थ्ये होलान । तर मेरो र परिवारका सदस्यहरुको सावधानी र सुझबुझले आज हाम्रो परिवारमा सबैको कोरोना रिपोर्ट निगेटिभ छ ।

घरकै औषधि
घरमा बस्दा मैले सिटामोल, भिटामिन ‘सि’ र ‘ई’ संगै केहि स्थानीय र होम मेड जडिबुटीको प्रयोग गरेको छु । जुन मेरा स्थानीय शुभचिन्तक र आफन्तहरुले सल्लाह दिनुभएको थियो । म बिहानको नित्य कर्मसंगै कागती पानी पिउने गर्छु । त्यसपछि गुर्जो, तुलसी, अदुवा, बेसार, तेजपात र दालचिनीको काढा बनाएर खादै आएको छु । यस्तो काढा मैले दिनको तिन पटकसम्म पिउने गरेको छु ।

त्यसैगरी बिहान अनार र त्यसपछि आफुलाई मनपर्ने खाजा खाने गरेको छु । जसमा प्राय दाल, गाहुँको रोटी, खिर, तरकारी, अन्डा, चनालगायतका खानेकुरा पर्छन । दिउो १ बजे तिर सधैको जस्तो भात, दाल तरकारी, साग र साझ ४÷५ बजेकोे खाजा, राती सुत्नअघि बेसार र दुध नियमित रुपमा खादै आएको छु ।

मैले ज्वरो नाप्ने थर्माेमिटर, लगाउने मास्क र सेनिटाईजर पनि संगै राखेको छु । कहिले कही त लाग्थ्यो मेरो घर कुनै सुविधा सम्पन्न सरकारी आइसोलेशन सेन्टरमा भन्दा कम छैन ।

मेरो बुझाइमा वास्तवमा आफैले बनाएको घर आइसोलेशनको प्रयोग कोरोना संक्रमितहरुकोलागि सबै भन्दा उपयोगी स्थान हो । जहाँ हामी आफुले चाहेअनुसारको औषधि खानेकुरासंगै पारिवारिक माया र ममतासमेत प्राप्त गर्न सक्छौ । जुन कुरा अन्यत्र शंभव छैन ।

अन्त्यमा
कोरोना (कोभिड १९ ) सक्रमण भएसंगै फोन र समाजिक संजालबाट हौसला प्रदान गर्नुहुने अग्रज, सहकर्मी, मित्रजनहरुका साथै सबैलाई हृदयबाट नमन गर्न चाहन्छु । साथै, औषधीजन्य वस्तुको प्रयोगमा सल्लाह दिनुहुने डा. उदयनारायण सिह, असरफ हुसेन, सिमराका अशोक जैशवाल सबैलाई धन्यवाद छ ।

विश्वास छ, अबको केहि दिनभित्र नै मेरो दोस्रो पिसिआरे रिपोर्ट आउने छ । यतिबेलामा दोस्रो परीक्षण रिपोर्ट आउन भएको ढिलाइ र त्यसको पिडालाई बिर्सेर बेसार पानी, कागती पानी र जडिबुटीको चुस्कीसंगै रमाएर बसिरहेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here