डुमरवाना\बरियारपुर, २७ साउन–कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको आइसोलेशनमा बस्दै आएका नोवेल कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामीहरूलाई उचित सेवा प्रवाह नभएको इन्सेक बाराले जनाएको छ ।
इन्सेकका बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले सोमबार एक प्रेस विज्ञप्ति निकालेर कलैया अस्पताल अन्तर्गतको कोभिड अस्पतालले सङ्क्रामक रोग ऐन २०२० को दफा २ को उपदफा ३ को मर्मअनुसार सेवा प्रवाह नगरिएको बताउनु भएको हो । जिल्ला प्रतिनिधि पौडेलले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा आइसोलेशन कक्षमा पर्याप्त मात्रामा पानी नरहेको, प्रयोग गरिएका भाडाहरू राम्ररी सफा नभएको, स्नानघर तथा शौचालय सफा नभएको, हातधुने बेसिन फोहर भएको, झोलिलो तथा पोषणयुक्त खानेकुरा नदिएको भनिएको छ ।
इन्सेकले आइसोलेशनमा भएको लार्पवाहीप्रति अस्पताल प्रशासन र जिल्ला प्रशासनको ध्यान आकर्षणसमेत गराएको छ । ‘ढोका, टेबुललगायतका सामग्रीहरूमा डिस्इन्फेक्टेण्ट प्रयोग नगरिएको र एक गिलास तातो पानीको पनि व्यवस्था नभएको विषयमा अस्पताल प्रशासन र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन चाहान्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका अनुसार बिरामीको उपचार, स्वच्छ खाना, सफा तातो र चिसो पानी, सफा शौचालय र पङ्खा लगायतको तुरून्त व्यवस्था गर्न कलैया अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग मांग गरिएको छ ।
इन्सेकले आइसोलेशनको राम्रो व्यवस्थापन गरी संक्रमितहरुलाई चाहिएको आधारभुत मानवअधिकार पालन गर्न गराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ ।