पुष्पराज खतिवडा
मनहर्वा, २७ साउन– रौतहटको कटहरिया नगरपालिका– ३, हथियाईका रतन यादव जितपुरसिमरा– १६ डकाहामा रहेको बगैचामा लिचीको बोटमा चढेर कलमी गर्ने काममा व्यस्त हुनुहुन्छ अचेल । उहाँसँगै उपेन्द्र, धिरेन्द्र, रामाधार, राजेश यादवलगायत १२ जना यूवाहरुको दिनचर्या यस्तै छ ।
युवाहरु बिहान सबेरैदेखि लिचिका रुखमा चढ्छन र दिनभरी कलमी राखेर साँझ परेपछिमात्र ओर्लन्छन । एउटा कलमी गरेबापत ४ रुपैया ज्याला पाउछन युवाहरुले । दैनिक २ देखि ६ सयसम्म कलमी बनाउने गरेको रतनले बताउनुभयो । चिलीको बोटको हाँगामा फलामे पिलाँसले बोक्रा तासेपछि माटो राखेर बाहिरबाट प्लाष्टीकले बेरेर बिरुवामा कलमी लगाउने गरिन्छ ।
कलमी नयाँ विरुवा उत्पादनको लागि तराई क्षेत्रमा प्रयोग हुदै आएको परम्परागत विधि हो ।
रौतहटकै प्रमोद साहले युवाहरुलाई डेढ महिनाअघि डकाहा ल्याउनुभएको हो । साहले बद्रिराज पाण्डेको बगैंचामा रहेका ६५ वटा लिचीका बोट स्थानीय गोपाल मगरसँग प्रतिबर्ष २ लाख ५० भाँडा तिर्ने गरी लिएको बताउनुभयो । उक्त बगैचाका लिचीका रुखहरुमा अघिल्लो बर्ष ८२ हजार कलमी गरिएकोमा २६ हजार बिरुवा मात्रै उत्पादन भएको थियो ।
‘यो ८० हजार कलमी गर्ने लक्ष्यकासाथ काम भैरहेको छ, प्रमोदले भन्नुभयो, कलमीको समय सकिन लाग्यो १० हजार भन्दा बढी गर्न सकिएको छैन ।’ यसअघि लगातार बर्षा भएको र राम्ररी काम गर्न नपाएको उहाँले सुनाउनुभयो । डेढ महिनाअघि कलमी गरिएका करिब १० हजार हाँगामा भने जरा पलाउन थालेकाले केही दिनमा विरुवा तयार उहाँले सुनाउनुभयो ।
माटो बेरिएका ठाउँमा एकदेखि डेढ महिनाभित्रमा जरा पलाउन थाल्छ । जरा पलाएपछि काटेर तल्लो भागमा काटेर पुन केही समय माटोमा नै रोपेपछि कलमी विरुवा तयार हुने प्रमोदले बताउनुभयो ।
यसरी तयार भएका कलमी विरुवा प्रति गोटा ४०÷४५ रुपैंयामा बिक्री हुने उहाँको भनाइ छ । तर यसका लागि मौसमले पनि साथ दिनुपर्ने भन्दै प्रमोदले हाँगा ताछेर माटो बाँधेपछि बेलाबेलामा पानी परिरह्यो भने चाढै जरा हालेर कलमी सफल शंभावना अधिक हुने उहाँ बताउनु हुन्छ ।
प्रमोदले २० वर्ष अघिबाट कटहरीया नगरपालिका– २ बिर्ती प्रस्टोकामा वागवानी तथा नर्सरी फर्म संचालन गर्नुभएको छ । उहाँको नर्सरीमा आँप, लिची, कटहर, कागती, मेवा, नास्पाती, अनारलगायतका सयौं प्रजातिका बोट बिरुवा तयार पारिन्छन । कलमी विरुवा बनाउने विभिन्न विधि हुन्छन् । ती मध्ये हाँगामा माटो बाँध्ने विधि सजिलो विधि भएको र यो विधि बर्षायाममा मात्रै सफल हुने प्रमोदले बताउनुभयो ।
यसरी तयार गरिएका फलफुलसँगै विभिन्न प्रजातिका बिरुवा देशभरका पालिका तथा वन कार्यालयहरुमा बिक्र हुने गरेको छ । नर्सरीको माध्यमबाट वार्षिक लाखौं विरुवा उत्पादन गर्दै आएका प्रमोदले अघिल्लो बर्ष १६ लाख रुपैयाको विरुवा बेचेको यस वर्ष २५ लाख रुपैंया बराबरको विरुवा बेच्ने योजना रहेको पनि सुनाउनुभयो ।
प्रमोदले नर्सरीमा १५ जनालाई प्रत्यक्ष रोजगारी दिदै आउनुभएको छ । स्थानीय बजारहरुमा एउटा कलमी विरुवाको साईज अनुसार एक सयदेखि तीन सय रुपैंयासम्ममा बिक्रि हुँदै आएको स्थानीय आशिष रानाले बताउनुभयो ।