दुष्यन्त चौधरी
पर्सा — पर्साको जिराभवानी गाउँपालिका–१ गम्हरीयामा बसोबास गर्दै आएका वृद्ध–वृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला र सीमान्तकृत समुदायका असहायहरूको लागि न्यानो कम्बल वितरण गरिएको छ । चिसो मौसमका कारण थप जोखिममा परेका कमजोर वर्गलाई सहज बनाउन रामाकान्त अग्रवालको पूर्ण आर्थिक सहयोग र उपकार सेवा नेपालको सहकार्यमा उक्त सहयोग कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममार्फत १०० जना लाभग्राहीलाई न्यानो कम्बल प्रदान गरिएको छ । चिसोबाट उत्पन्न हुने स्वास्थ्य जटिलता र कठिनाइलाई ध्यानमा राखेर सहयोग गरिएको जानकारी उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले दिनुभयो । उहाँका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत वञ्चित समुदायलाई सहयोग पुर्याउन संस्थाले निरन्तर रूपमा अभियान सञ्चालन गर्दै आएको छ ।
कम्बल वितरण कार्यक्रम जिराभवानी–१ का वडा अध्यक्ष रामशरण खवासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका संरक्षक पद्मा देवी सरावगी, रामाकान्त अग्रवालका प्रतिनिधि रेनु सर्राफ र नेहा सर्राफ, समाजसेवी प्रकाश थारू, बोडर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रनि हरिचन्द्र खड्का, प्रहरी चौकी महादेवपट्टीका प्रमुख प्रसनि अवधलाल साह लगायतको सहभागिता थियो ।
अध्यक्ष सरावगीले जाडोमा कमजोर समुदायलाई न्यानोपन उपलब्ध गराउनु संस्थाको दायित्व भएको बताउँदै आगामी दिनमा पनि सहयोग अभियान अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष खवासले उपकार सेवा नेपालले यसअघि पनि जिराभवानी–१ मा आगलागी पीडित, विपन्न परिवार र मठ–मन्दिरमा नियमित सहयोग पुर्याएको उल्लेख गर्दै संस्थाको योगदानप्रति आभार व्यक्त गर्नुभयो । साथै, संस्थाले यसै वडाका अपाङ्गता भएका चार परिवारलाई ह्वीलचेयर वितरण गरेको जानकारीसमेत गराइएको थियो ।
चिसो बढ्दै गएको अवस्थामा प्राप्त न्यानो कम्बलले असहाय र जोखिम समूहलाई महत्वपूर्ण राहत र सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ । सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक ऊर्जा पैदा गर्ने भन्दै सबैलाई सहयोगी बन्ने अपिल गर्नुभयो ।
















