राजकुमार यादव
मौलापुर,आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको विकल्प नभएको बताउनुभएको छ ।आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष साहले सो कुरा बताउनुभएको हो । उहाँले देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएकोले यसलाई तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग पनि गर्नुभएको छ ।कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री प्रभु साहले राज्यलाई चुनौति दिदै नेपाल सेनाको विकल्पमा आफ्नै आईटी आर्मी सेना तयार गर्ने बताउनुभएको छ । विदेश बस्दै आएका नेताका छोरा÷छोरी पुँजीपतिहरुको सम्पति खोजेर पार्टीको झण्डा गाड्ने पनि बताउनुभएको छ ।अन्तरिम सरकार गठनमा यदि कुनै तत्व बाधक बन्छ भने तपाई हामी देश र जनताको पक्षमा आईटी आर्मीको अर्धशैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने बेला आईसकेकोले यसतर्फ सबै देशभक्त युवाहरुलाई गम्भीर हुन आजपा अध्यक्ष साहले अपील समेत गर्नुभयो । आम जनता पार्टीको स्थापना दिवसको अवसरमा हजारौं युवाहरूको सहभागिता तथा आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा रौतहट जिल्लाको मौलापुरस्थित शहिद स्मृति सभा हलमा भएको उक्त कार्यक्रमले भ्रष्टाचारको विरूद्ध सशक्त संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने बताइएको छ ।
झण्डै ५ दिनसम्म चलने उक्त भेला तथा प्रशिक्षण कार्यक्रमको पूर्ण सफलताको लागि आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश ईन्चार्ज सुधीर यादव लगायतका नेताहरूले शुभकामना सहितको मन्तव्य व्यक्त गरेका थिए ।


















