राजन कुमार बानिया

पोखरिया, २७ साउन– चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि पर्साको पोखिरिया अस्पतालको ओपिडी सेवा सोमबारबाट बन्द भएको छ । अस्पतालका एक जना चिकित्सक, एक जना स्टाफ नर्स र एक जना अहेब गरी तीन जनामा संक्रमण देखिएपछि ओपिडी सेवा बन्द गरिएको हो ।

नगरपालिकाका पदाधिकारी तथा अस्पताल व्यवस्थापन समितिका सदस्यलाई मोबाईलबाट जानकारी गराएर अस्पतालको ओपिडी सेवा बन्द गरिएको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल कुमार यादवले जनाउनुभयो । यस सम्बन्धमा अस्पताल विकास समिति तथा नगरपालिकाले बैठक बसेर निर्णय गर्न भने बाँकी रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार अस्पतालका थप दुई चिकित्सक र दुई जना नर्समा पनि कोरोनासँग मिल्ने लक्षण देखिएको मेडिकल सुपरिटेन्डेन्ट यादवले जानकारी दिनुभयो ।

 

तीन जना संक्रमित भएको र थप चार जनामा लक्षण पनि देखिएको हुँदा बाध्य भएर ओपिडी सेवा बन्द गर्ने निर्णय लिनु परेको उहाँले बताउनुभयो । अस्पतालको ओपिडी सेवा बन्द रहेको र ईमर्जेन्सी सेवा संचलनमा रहेको डाक्टर यादवल बताउनुभयो । यसअघि वीरगजस्थित नारायणी अस्पतालले सार्वजनिक गरेको पछिल्लो पिसिआर परिक्षणको रिपोटअनुसार पोखरिया अस्पतालका एक चिकित्सक र दुई स्वास्थ्यकर्मी गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी डाक्टरमा पनि कोरोनाका पोजेटिभ देखिन थालेपछि सेवाग्राही पनि जोखिममा परेको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यादवले बताउनुभएको छ । यता, वीरगंजका निजी अस्पतालहरुले बिरामीको चेकजाँच गर्न छोडेपछि सो क्षेत्रका जनताहरु उपचारको लागि पोखरिया अस्पतालमा आउन थालेको हुनसक्ने अस्पतालका स्वास्थ्यकर्मीहरुको अशंका छ । केही दिनयता वीरगंज महानगरपालिकाका बासिन्दा पनि पोखरिया आउन थालेपछि अस्पतालमा भिड बढन थालेको उनीहरुले बताएका छन । आल्ट्रासाउन्ड भिडियो एक्सरे गर्नमात्रै प्रति दिन ४०÷५० जना अस्पताल आउने गरेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यादवले जानकारी दिनुभयो ।

 

अस्पतालमा भिड बढी लाग्न थालेका कारणले पनि ओपिडी सेवा बन्द गर्नु परेको डाक्टर यादवले सुनाउनुभयो । पोखरिया अस्पतालको ओपिडी सेवा बन्द भएको बारेमा पोखरिया नगरप्रमुख दिपनारायण रौनियारले चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कोरोना पोजेटिभ पुष्टि भएको र अन्य स्वास्थ्यकर्मीहरुलाई पनि लक्षण देखिएकोले तत्कालको लागि ओपिडी सेवा बन्द भएको आफुले पनि खबर सुनेको र ईमर्जेन्सी सेवाहरु भने संचालनमा रहेको बताउनुभयो । पोखरिया अस्पतालमा उपचारको लागि आउने बिरामीहरुलाई कोरोना भाईरस सर्न नदिन ओपिडी सेवा बन्द गरिएको प्रमुख रौनियारले बताउनुभयो ।

त्यसैगरी सोमबार नै पोखरियाका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीहरुसमेत गरी २५ जनाको पिसिआर स्वाब संकलन गरी परीक्षको लागि नारायणी अस्पतालमा पठाइएको नगरप्रमुख रौनियारले जानकारी दिनुभयो ।

Leave a Reply