कलैया – महागढीमाई नगरपालिका– २ बरियारपुरमा खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवक घाइते भएका छन् । आज बिहान करिब १०ः३० बजे आफ्नै खेतमा पानी लगाउन विद्युत् मोटर सञ्चालन गर्ने क्रममा स्थानीय ३५ वर्षीय साहिल यादवलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालका अनुसार उहाँको अवस्था मध्यम रहेको छ । यादवको उपचारमा उनका भाञ्जा कमलेश प्रसाद यादव संलग्न रहेको जनाइएको छ । घटनाबारे अस्पतालमा खटिएका प्रहरीले दिउँसो करिब २ बजे प्रहरी चौकी बरियारपुरलाई जानकारी गराएका थिए । जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी बरियारपुरबाट करिब ५०० मिटर पश्चिममा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खेतबारीमा विद्युत् मोटर, तार तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

















