मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– १० स्थित शिव मन्दिर परिसरमा सामुदायिक धर्मशालाको शिलान्यास गरिएको छ । मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी को पहलमा भौतिक पूर्वाधारतर्फ विनियोजित २५ लाख रुपैयाँको बजेटबाट धर्मशाला निर्माण कार्य सुरु गरिएको हो ।शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य चौधरीले निर्माण कार्य गुणस्तरीय, आकर्षक तथा दिगो बनाउन उपभोक्ता समिति र स्थानीय समुदायलाई आग्रह गर्नुभयो । उहाँले धार्मिक तथा सामाजिक गतिविधिका लागि धर्मशाला महत्वपूर्ण संरचना हुने उल्लेख गर्दै समयमै निर्माण सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सभा सदस्य चौधरी र वडा नं. १० का वडा अध्यक्ष सजय पटेलले धार्मिक विधिअनुसार संयुक्त रूपमा पूजा–पाठ गरी धर्मशालाको शिलान्यास गर्नुभएको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।वडा अध्यक्ष पटेलले २५ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएकोमा प्रदेश सभा सदस्य चौधरीप्रति आभार व्यक्त गर्दै धर्मशालाले धार्मिक आगन्तुक, साधुसन्त तथा स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्षले शिव मन्दिरमा आउने भक्तजन तथा साधुसन्तका लागि उपयुक्त बसोबासको व्यवस्था अभाव रहेको अवस्थामा निर्माण हुन लागेको धर्मशालाले ठूलो सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा समाजसेवी रामकुमार मण्डल सहित विभिन्न क्षेत्रका बुद्धिजीवी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो ।

Leave a Reply