निजगढ,सहिद मुखलाल स्मृति प्रष्ठिान नेपालका अध्यक्ष एंव संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले सहिद मुखलाल महतो देश र जनताको निम्ति ज्यान अपर्ण गर्नेसच्चा शहीद भएको बताउनुभएको छ ।बाराको निजगढमा शहीद मुखलाल स्मृति प्रतिष्ठानको सातौं साधारण सभा तथा रेडियो निजगढ १०७.२ मेगाहर्जको बार्षिकोत्सव कार्यक्रममा बोल्दै युवा तथा खेलकुद पूर्वमन्त्री समेत रहनुभएका पौडेलले बुधवार सो कुरा बताउनुभएको हो । सामन्तिहरुको विरोधमा बाराका किसानहरुले गरेको आन्दोलनमा तत्कालिन शासकहरुले महतोलाई गोली हानेर हत्या गरेको उहाँले बताउनुभयो । ‘किसान र गरिब जनताको पक्षमा लड्ने क्रममा शासकहरुले हत्या गरे, पौडेलले भन्नुभयो, कम्युनिष्टहरुले किसान आन्दोलनका शहीद महतोको सधै उच्च सम्मान गर्नुपर्छ ।’

२०११–०१३ सालमा बारा र रौतहट जिल्लाका जमिन्दारहरुले किसानमाथि तीव्र शोषण गरेको र त्यसैको प्रतिकारमा बाराका विभिन्न क्षेत्रमा किसानहरुले आन्दोलन गरेको पौडेलले सुनाउनुभयो । किसानहरुले ‘रे नही, जी कहो’, ‘जमिन्दारके मुछ उखारो’, ‘जाली तमसुक च्यातो’ जस्ता नारा उठाएर आन्दोलन चलाएको पनि उहाँले जानकारी दिनुभयो । ‘आन्दोलनपछि बाराका किसानहरुमाथिको शोषण दमन कम भयो ।’ उहाँले भन्नुभयो ।शहीद मुखलालको जीवनी बारेमा अझै पनि पर्याप्त अध्ययन हुन नसकेको भन्दै नेता पौडेलले आफू विद्यार्थी राजनीतिमा सक्रिय भएपछि यस क्षेत्रमा भएको किसान आन्दोलनको बारेमा अध्ययन गरेको पनि उहाँले सुनाउनुुभयो ।

‘बारा, रौतहट र पर्सा जिल्लाका विभिन्न गाउँमा पुगेर किसान अगुवाहरुसंग भेटघाट गरेर विवरण संकलन गरेको थिएँ, उहाँले भन्नुभयो, बाराको गडहलका जमिन्दार हृदय नारायणले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नेता मधु सिंहलाई नियन्त्रणमा लिएर घरमा थुनेपछि उहाँलाई मुक्त पार्न बारा र रौतहटका गाउँगाउँबाट पुगेका किसानमाथि प्रहरी र सेनाले अन्धाधुन्दा गोली चलाएको थियो ।’ उहाँले अगाडि भन्नुभयो, १० हजारभन्दा बढी किसान जमिन्दारको घर घेर्न आएका थिए, जमिन्दारका मान्छे र स्थानीय प्रहरीले समेत रोक्न नसकेपछि वीरगञ्जबाट बडाहाकिमको नेतृत्वमा थप प्रहरी र नेपाली सेनाको टोली बोलाएर किसानहरुमाथि दमन गरियो ।’सो समयमा कम्युनिष्ट पार्टीका नेता मधु सिंहले गाउँगाउँमा किसानलाई संगठित गरेर सामान्तिहरु विरुद्धको आन्दोलनको नेतृत्व गरेको उहाँले सुनाउनुभयो ।

हाल करैयामाई गाउँपालिकाको नरही चोकमा आन्दोलनकारी किसान र सुरक्षाकर्मीबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर १६ वर्षको उमेरमा नै महतोको ज्यान गएको पौडेलको भनाई छ ।‘त्यतिबेला २ जनाको हत्या भएको थियो, आन्दोलनमा सहभागी अगुवाहरुले दिएको जानकारीको भन्दै पौडेलले भन्नुभयो, एक जनाको शव सेनाले नै कब्जामा लिएर बेपत्ता पा¥यो, मुखलालको शव भने किसानहरुले खोसेर जलुससहित अन्त्यष्टि गरेका थिए ।’ अर्का शहीदको नाम सिगार रहेको पनि उहाँले बताउनुभयो । सेना र प्रहरीको गोली लागेर एक दर्जनभन्दा बढी आन्दोलनकारी घाइते बनेको पौडेलले सुनाउनुभयो ।

रौतहटमा किसान आन्दोलनका अगुवा विष्णुबहादुर मानन्धर, हरिदयाल महतो, महादेव साह, खजान्ची साह र बाराका मधु सिंह, मोहन कोइरी, नन्दन अर्याल, जादो भगत मोहन पटवारीलगायत नेताहरुसंग भेटेर आफूले विवरण संकलन गरेको र त्यसको पाण्डुलिपि आफूसंग अझै सुरक्षित रहेको पौडेलले सुनाउनुभयो ।किसान आन्दोलनको बारेमा आफूले संकलन गरेको तथ्याङ्क हाल नेमकिपाका अध्यक्ष रहनुभएका नारायणमान बिजुक्छेलाई बुझाएको र बिजुक्छेले पछि सो विवरणको आधारमा ‘बारा र रौतहटको किसान आन्दोलन’ नामको पुस्तकमा समेटेको पनि बताउनुभयो ।मुखलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहनुभएका पौडेलले सरकारले मुखलाल महतोलाई शहीद घोषणा नगरेकोमा दुःख पनि व्यक्त गर्नुभएको छ । ‘हाल १४–१५ हजारको संख्यामा शहीद घोषणा गरिएको छ, उहाँले भन्नुभयो, तर पटकपटक माग गर्दा पनि गरिब र किसानको पक्षमा ज्यान दिने मुखलाललाई भने अझै शहीदको सूचीमा राखिएको छैैन ।’

सरकारले घोषणा नगरेपनि आफूहरुले ०५६ सालमा प्रतिष्ठान गठन गरेर शहीद मुखलालको सम्मान गर्दैआएको जानकारी पनि दिनुभयो । प्रतिष्ठानले मुखललाले सहादत प्राप्त गरेको नरहीमा महतोको शालीक स्थापना गरेर हरेक वर्ष स्मृति दिवस मनाउने गरेको छ ।
कार्यक्रममा प्लस टु परीक्षामा निजगढ नगरपालिकाबाट सर्वोत्कृष्ट अंकसहित उतिर्ण हुने निजगढ नगरपालिका– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयकी छात्र नोदनाथ पौडेल र निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसबाट उत्कृष्ट अङ्कसहित उर्तीण हुने अविनाश चौधरीलाई ‘टंकनाथ–रत्नकुमारी स्मृति अक्षय कोष’ को ‘जेहेन्दार विद्यार्थी पुरस्कार’बाट सम्मान गरिएको थियो । ।प्रतिष्ठानले निजगढ क्षेत्रमा संचालनमा रहेका सामुदायिक विद्यालय र क्याम्पसको अन्तिम कक्षाको परीक्षामा सबैभन्दा बढी अंक ल्याएर उर्तिण हुने २ जना विद्यार्थीलाई हरेक वर्ष १०–१० हजार नगद र सम्मान पत्रबाटसम्मानित गर्दैआएको छ ।

कार्यक्रममा रेडियो संचालक समितिका संयोजक सुदर्शन कोइरलाले रेडियोको प्रगति प्रतिवेदन र सदस्य विपिन अधिकारीले आर्थिक (लेखा परीक्षण) प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमा प्रतिष्ठानकी कोषाध्यक्ष लिलादेवी खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा सहकारीको सभाहलमा भएको सो साधारण सभामा मुखलाल स्मृति प्रतिष्ठान र रेडियो निजगढका आजिवनसदस्यताको प्रमाण पत्र र र रेडियोका सहयोगी व्यवसायीहरुलाई समेत सम्मान पत्र वितरण गरिएको थियो ।

Leave a Reply