दुष्यन्त चौधरी
कलैया – सरकारी सहि छाप किर्ते गरी अरुको जग्गा आफ्नो नाममा दर्ता एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंहको कमाण्डमा खटिएको टोलीले कोल्हवीको किता नम्बर ८९ को एक बिग्हा चार कठ्ठा तथा किता नम्बर १०९ को एक बिग्हा १३ कठ्ठा १० धुर रहेको जग्गामा सरकारी सहि छाप किर्ते गरी आफ्नो नाममा दर्ता गर्ने कोल्हवी नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षिय बद्रि नारायण चौधरीलाई पक्राउ गरेको बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

 

 

किता नम्बर ८९ एक बिग्हा चार कठ्ठा जग्गा कोल्हवी–३ बस्ने सिता पाठक, गोबिन्द मैनालीको नाममा रहेको थियो । भने किता नम्बर १०९ को एक बिग्हा १३ कठ्ठा १० धुर जग्गा कोल्हवी – १ बस्ने हरि राय चौधरीकी श्रीमती सोनफी चौधरी नाम रहेको थियो । चौधरीले सरकारी छाप तथा वडा अध्यक्षको सहि २०३६ सालमै किर्ते गरी आफ्नो नाममा दर्ता गराएका बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताए ।

 

 

चौधरीले किर्ते सहि तथा छाप प्रयोग गरी दुबै किताको जग्गा आफ्नो नाममा दर्ता गरेको बुझिएका प्रहरी नायब उपरिक्षक मिश्रले सुनाए । चौधरीले आफ्नो नाममा जग्गा दर्ता गराएपछि २०७३ साल माघ १५ गते सिन्धुपाल्चोक जिल्लाकी लालमाया श्रेष्ठलाई दुबै किताको जग्गा ४५/४५ लाखमा बेचिएको समेत प्रहरीले जनाए ।

 

 

पक्राउ परेको चौधरी माथी मुलुकी अपराध सहिंता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरको दफा २७६ को उप दफा ३ को देहाय ग बमोजिम यस्तो गर्ने व्यक्तिलाई ७ वर्ष सम्म कैद तथा ७० हजार सम्म जरिवाना हुने कानुनमा प्रावधान रहेको छ । साथै लिखत (लालपुर्जा) बरद गर्नलाई मालपोत कार्यालयमा पिडितहरुले समेत मुद्दा दिएको प्रहरीले बताए । मालपोत कार्यालयमा मुद्दा परेपनि चौधरीलाई सरकारी कार्यालयको सहि , छाप किर्ते गरेकाले मुद्दा चलाईएका बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक मिश्रले सुनाए । पक्राउ गरेको चौधरी माथी थप अनुसंधान भईरहेको प्रहरीले दावी गरे । त्यसैगरी यस मुद्दामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको अनुसंधानबाट खुलेका प्रहरी नायब उपरिक्षक मिश्रले दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here