सरकारले सन् २०२० लाई पर्यटन बर्ष त घोषणा ग¥यो तर यसले मुर्त रुप लिन सकेन । छिमेकी मुलुक चीनको हुबेई, उहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वव्यापी चुनौतीको विषय बनेको छ । मानिसमा मृत्युको भय एकातिर छ भने अर्कातिर आर्थिक मन्दीले सिर्जना गर्ने सम्भाव्य त्रास । यो साझा परिवेश हो, आज यस अवस्थाबाट विश्वको खासगरी शहरी क्षेत्र आक्रान्त छ ।
तर, यस बेला जुन स्तरको मानवीय संवेदनाको खाँचो थियो, त्यो खासगरी व्यापारिक क्षेत्र तथा दैनिक उपभोग्य सामग्रीका आपूर्तिकर्ताबाट देख्न सकिएको छैन् । कोरोना भाइरसले सबैभन्दा बढी प्रभाव पारेको भनेको पर्यटन सेवामा हो । नेपालले निकै तयारी गरेको नेपाल भ्रमण वर्ष समेत स्थगित गर्नुपर्ने स्थितिले यसको संवेदनशीलतालाई बुझाउँछ । नेपालको प्रमुख आयका रूपमा रहेको वैदेशिक रोजगारीमा समेत यसको असर देखिएको छ ।
कोरोना भाइरसकै कारण कतारले नेपालीहरूलाई प्रवेशमा रोक लगाएको छ । त्यससँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ । नेपाली कामदारका लागि कतार मलेसियापछिको दोस्रो आकर्षक गन्तव्य मुलुक हो । कतारमा रोजगारीको खोजीमा वार्षिक डेढ लाखभन्दा बढी युवाहरू पुग्ने गरेका छन् ।
हाल कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिकहरू कार्यरत रहेको अनुमान छ । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुनसक्ने प्रक्षेपण गरेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असर लगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने प्रतिवेदन एडीबीले सार्वजनिक गरेको छ ।