गत सोमवार बाराको निजगढ भएको घटनाको रहस्य अझै पनि गर्भंमा नै छ । घटना भएको एक हप्ता बितेपनि यसको सत्य तथ्य कुरा अझै बाहिर आउन सकेको छैन ।यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ र ढिलोचांडो सबै कुरा बाहिर आउने विश्वास पनि छ । तर अब घटनापछि मृतक परिवारका सदस्यहरुलाई कसरी राहत दिने भन्ने बारेमा सबैको ध्यान जान जरुरी छ । उनीहरुलाई राहत र संरक्षण गर्ने सवालमा सरकार गम्भीर बन्न आवश्यक देखिन्छ ।
निजगढमा जे नहुनुपर्ने थियो त्यो त भइ नै सकेको छ । पहिलो कुरा घटना नियोजित भएको भए संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ र त्योभन्दा अगाडि पीडित परिवारलाई राहत उपलब्ध गराइनुपर्छ ।
एक भारतीय नागरिकसहित तीन जना नागरिकले यो घटनामा अनाहकमा ज्यान गुमाएका छन् । उनीहरुको ज्यानको मुल्य त अब कसैले पनि तिर्न सक्ने कुरै भएन तैपनि उनीबाट आश्रित परिवारको भरणपोषणको लागि भने राज्यले सहयोग गनुर्पर्ने हुन्छ । सरकार भनेको संघीय वा स्थानीय जसले जति सक्छ उसले तत्काल पीडित परिवारमा सहयोग पु¥याउन आवश्यक छ । अहिले आफ्ना प्रिय मान्छेहरु गुमाएको पीडा परिवारजनमा ताजा छ । यही अवस्थामा पनि सकेको सहयोग गर्दा उनीहरुको घाउमा मलहमपट्टी लगाए सरह हुनेछ ।
मृतकका आश्रीत परिवारका लालावालाको शिक्षादिक्षाको पनि उचित प्रबन्ध मिलाइनुपर्छ । त्यसको व्यवस्था गर्ने दायित्व पनि सरकारकै हो । आर्थिक अभावमा घाइतेको उपचारमा समस्या भएको र मृतकको काजक्रिया पनि प्रभावित बनेको समाचारहरु सार्वजनिक भइरहेकाले संघीय सरकारले मृतकका परिवारलाई राहत स्वरुप तत्काल केही रकम दिन आवश्यक देखिन्छ । त्यसैगरी स्थानीय सरकारले कम्तिमा काजक्रियाका खर्च र उनीहरुका बालबच्चाका लागि शिक्षादीक्षाको जिम्मेवारी लिनुपर्छ । यसो भएको खण्डमा मात्रै पीडित परिवारलाई सरकार भएको अनुभूति हुनेछ ।

















