कृष्ण मोहन साह
सेढवा, २३ कार्तिक । संघिय सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पर्साको विकासका दृष्टिले पछाडि परेको ग्रामीण क्षेत्रको विकासका लागी संघिय सरकार प्रतिबद्ध भएको बताएका छन् । मुलुकको विकासका लागी तिनै तहको सरकार क्रियाशिल रहेकोे बताउँदै मन्त्री पण्डितले यसबर्ष संघिय सरकारले तराई मधेसका २१ जिल्लामा तराई मधेस समृद्धि कार्यक्रमका लागि मात्र करीब साँढे सात अरब भन्दा बढी बजेट बिनियोजन गरेको बताए ।

 

पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ मा पर्ने महादेवपट्टी र बलुवा जोड्ने ओरिया खोलामा निर्माण हुन लागेको झोलुङ्गे पुल र बलुवामा निर्माण हुन लागेको मदर्सा भवनको र जिराभवानी गाउँपालिका वडा नम्बर ४ सुपौली धर्मशालाको शनिबार शिलान्यास गर्दै महादेवपट्टीमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

 

कार्यक्रममा मन्त्री पण्डितले संघिय सरकार तराई मधेसको विकासमा दृढ भएर लागिपरेको बताउँदै पुल निर्माण ,सामुदायिक भवन ,नदि नियन्त्रण, मदर्सा ,पक्की सडक निर्माण लगायत भौतिक पुर्वाधार निर्माणले अबका दिनमा गति लिने दावी गरे । त्यसका लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चालु आर्थिक बर्षमा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रु १ अरब ५५ करोड बजेट रहेको प्रष्ट पारे । उनले गरिबी अन्त्यका लागी सरकार सबैसंग समन्वय गर्न तयार भएको बताउँदै मन्त्री पण्डितले विकासमा अवरोध नगर्न सबैलाई अनुरोध गरे । पर्सामा कटान गरिरहेको ओरिया खोलाको अवलोकन गर्दै उनले ओरिया खोला नियन्त्रणमा सरकारले कुनै कसर बाकी नराख्ने बताए ।

 

त्यसैगरी कार्यक्रममा नेकपा नेता एवम् संविधान सभा सदस्य जय प्रकाश थारुले ओरिया खोला बस्ती नै बिस्थापित गर्ने जोखिममा रहेको बताउँदै आगामी दिनमा ओरिया खोलाको नियन्त्रणका लागी समेत आवश्यक सहयोगका लागी अनुरोध गरे । कार्यक्रममा बलुवाका स्थानीयको ५० बिगाहा भन्दा बढि जमिन भारतीय पक्षले कब्जा गरेको भन्दै सो सम्बन्धि ध्यानाकर्षण पत्र स्थानीयले बुझाएका थिए ।

 

यसैबीच पर्साको जीराभवानी वर्डा नम्बर १ महादेवपट्टी र बलुवा जोड्ने ओरिया खोला पुलमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत रु ३ करोड ४१ लाख २६ हजार रुपैयाँ (मु.अ.क.सहित) को लागतमा २२०.६ मिटर लामो झोलुङ्गे पुल निर्माण हुन लागेको हो । गत असार २९ गते ठेक्का सम्झौता भएको पुलको २०७६ असार २८ मा निर्माण सम्पन्न गर्ने गरी सुवेदी निर्माण सेवा र दिपु एण्ड कम्पनीले सँयुक्त रुपमा ठेक्का सकारेको हो ।
त्यसैगरी बलुवामा तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत रु २५ लाखको लागतमा मदर्सा निर्माण र सुपौली जिराभवानी वडा नम्बर ४ मा एक करोड तीस लाखको लागतमा कम्पाउण्ड बाल सहितको अढाई तल्ले भवन निर्माण हुन लागेको छ ।

 

कार्यक्रम संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पन्डितको प्रमुख आतिथ्य तथा जिराभवानी गाउँपालिकाका अध्यक्ष रामपृत महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका पुर्व सभासद जयप्रकाश थारु , ठोरी गाउँपालिकाका अध्यक्ष पदम लाल श्रेष्ठ , जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिँया , नेकपाका केन्द्रिय सदस्य रामचन्द्र साह , नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा , नेकपाका ठोरी गाउँपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठ, सन्तोस घिमिरे लगायत नेकपाका नेताकार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा देवि थरुनीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here