दुष्यन्त चौधरी
कलैया , माघ ११ । बाराको करैयामाई गाउँपालिका–८ नरहीमा सोमबारदेखि सञ्चालन हुने थारु माघी महोत्सव २०८२ का लागि सम्पूर्ण तयारी पूरा भएको छ। थारु समुदायको मौलिक पहिचान, परम्परा, संस्कृति तथा इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले थारु कल्याणकारीणी सभाको स्थापना दिवसको अवसर पारेर महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका चर्चित थारु कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष रामपुकार (प्रमोद) चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार माघी पर्वलाई सांस्कृतिक महोत्सवको रूपमा स्थापित गर्दै नयाँ पुस्तामा थारु समुदायको इतिहास, संस्कृति र पहिचान हस्तान्तरण गर्ने मुख्य लक्ष्य रहेको छ।

 

आयोजना हुन लागेको महोत्सवको औपचारिक उद्घाटन करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरीले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनका दिन थारु समुदायको मौलिक भेषभूषा, पहिरन, नृत्य तथा सांस्कृतिक झाँकीसहित थारु जीवनशैली झल्काउने विविध प्रस्तुति रहने आयोजकले जनाएको छ।


महोत्सवमा बिरु चौधरी, प्रियंका चौधरी, अस्मिता पन्जियार, निराजन चौधरी, राज चौधरी, वर्षा चौधरी, हरिश चौधरी, जुली चौधरी, अजय चौधरी, अक्षरा चौधरी लगायतका कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ।

 


करैयामाई गाउँपालिका–८ का वडाध्यक्ष दिनेश चौधरीका अनुसार महोत्सवमा थारु समुदायका परम्परागत खाना, गहना, कृषि उपकरण, भेषभूषा, लोककला र ऐतिहासिक जीवनशैली झल्काउने प्रदर्शनीसमेत आयोजना गरिनेछ। यसले थारु समुदायको संघर्ष, संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो।

 


करैयामाई–८ नरही तथा बारागढी गाउँपालिकास्थित थारु समाजको संयुक्त आयोजनामा हुने यो महोत्सव माघ १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सव केवल मनोरञ्जनमा सीमित नरही थारु समुदायको सांस्कृतिक चेतना, सामाजिक एकता र ऐतिहासिक पहिचानलाई मजबुत बनाउने साझा अभियानका रूपमा अघि बढाइएको सामाजिक अभियन्ता दिपक चौधरीले जानकारी दिनुभयो।

Leave a Reply