निजगढ,गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तथा प्रदेश सभाका दुबै सिटमा विजयी गराएको भन्दै एमाले क्षेत्रीय कमिटीले मतदाताप्रति धन्यवाद र आभार व्यक्त गरेको छ ।
नेकपा एमाले क्षेत्र नम्बर १ क्षेत्रीय कमिटी सचिव रामकृष्ण घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा नेकपा एमाले र एमालेसंग तालमेलमा रहेको जसपाका उम्मेदवारहरुलाई मतदान गरेर विजयी तुल्याउने सम्पूर्ण मतदाताहरुमा धन्यवाद व्यक्त गरिएको हो ।
विज्ञप्तिमा तालमेलमा रहेको पार्टीका उम्मेदवारहरुलाई माया, सद्भाव र विश्वास गरेर अमूल्य मत दिएको मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौँ भनिएको छ । अगाडि भनिएको छ– ‘निर्वाचन अभियानका क्रममा प्राप्त वृद्ध बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा र अनि बैशाखी टेकेर टेकेर र अरूको सहारा लिएर भए पनि मतदान केन्द्रमा पुगेर आफूहरुलाई मतदान गर्ने कार्य भएको र जनताको त्यस्तो कार्य पार्टी र संगठनको लागि हमेशा प्रेरणाका स्रोत बनिरहने छ ।’
त्यसैगरी निर्वाचनमा सफलताको सङ्कल्प बोकेर दुई महिनादेखि निर्वाचन अभियानमा खटिने पार्टी कमिटी र जनसंगठनका पदाधिकारी र सदस्यहरु तथा विभिन्न जिम्मेवारीमा रहेका पार्टी कार्यकर्ता, सहयोगी, शुभचिन्तक र समर्थक सबैप्रति कृतज्ञ पनि व्यक्ति गरिएको छ । विज्ञप्तिमा निर्वाचन सम्पन्न गराउने कार्यमा खटने निर्वाचन कर्मचारी, सुरक्षाकर्मीहरूलाई पनि धन्यवाद दिइएको छ ।

















