निजगढ,मधेस प्रदेशका मख्यमन्त्री लालबाबु राउतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्नुपर्ने बताउनुभएको छ ।
निजगढ सार्वजनिक सरोकार समिति र युवा तथा विद्यार्थी सरोकार समितिले विमानस्थल निर्माणको माग राखेर दिएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले मंगलवार सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राउतले मुलुकको राष्ट्रिय गौरवको योजना भएकोले निजगढ विमानस्थल कुनै पनि हालतमा बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले अहिले बाहिर आएको समाचार जस्तो नभएर पूर्ण पाठ आउने क्रममा विमानस्थल निर्माण गर्ने गरी सर्वोच्च अदालतको फैसला आउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले मुलक र मधेश प्रदेशको सर्वाङ्गिण विकासको लागि विमानस्थल निर्माण आवश्यक भएकोले यसको निर्माणको लागि आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने बताउनुभयो ।
सो अवसरमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य रामबाबु यादवको पनि उपस्थिति रहेको थियो । संसद यादवले अदालतबाट प्रतिकुल फैसला आएपनि सरकारले निजगढ विमानस्थल बनाउने बताउनुभयो । ‘निजगढको विकल्प छैन, संसद यादवले भन्नुभयो, पूर्णपाठमा अदालतबाट प्रतिकुल फैसला आएमा संसदबाट संकल्प प्रस्ताव पास गरेर भएपनि विमानस्थल बनाइन्छ ।’ उहाँले सर्वोच्चको हालको फैसला देश र जनताको हितमा नरहेको बताउनुभो ।
सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठसहित निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेबी लामिछाने, विनोद भारती, दिलबहादुर लामा, बासु तिमल्सिना, यमबहादुर खडका, भिमसेन सापकोटा, मोजहर मन्सुर, जयराम कुवरलगायतको टोलीले सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनुपर्ने र निजगढ विमानस्थल तत्काल बन्नु पर्ने भन्दै जनकपुरस्थित मुख्यमन्त्री निवासमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।