निजगढ,पूर्वपश्चिम लोकमार्गको निजगढ पथलैया खण्डको उनासी पुलनजिक ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि फरार बनेका चालकलाई निजगढ प्रहरीले सिसिटीभि फुटेजको मद्दतमा काठमाण्डौंबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले अनुसन्धानको क्रममा ना ८ ख ३९७५ नम्बरको ट्रकको ठक्करबाट नाम, थर र बतन नखुलेको अन्दाजी ५० वर्षिय पुरुषको ज्यान गएपछि सर्लाही जिल्ला बागमती नगरपालिका वडा नम्बर ५ घर भएका वर्ष २९ का चालक अनिल खरेललाई बुधवार काठमाण्डौंबाट नियन्त्रणमा लिएको हो ।निजगढको फास्टट्याकनजिक राजमार्गमा ट्राफिक प्रहरीले जडान गरेको एएनपिआर क्यामराले खिचेको भिडियो फुटेजको मद्दतमा ठक्कर दिने ट्रकको पहिचान गरी चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । क्यामराको भिडियो फुटेजमा ठक्कर दिने ट्रकको नम्बर र हुलिया स्पष्ट भएको र सोही समयमा उक्त ट्रक अमलेखगञ्ज प्रहरीमा इन्ट्री भएको पाइएपछि ट्रक काठमाण्डौंतर्फ गएको खुलेको थियो ।

काठमाण्डौं प्रहरीको सहयोगमा खोजतलास गर्दै जादा चालक खरेललाई काठमाण्डौंबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कुशवाहाले बताउनुभयो । गत शनिवार राति राजमार्गमा गाडीको ठक्करबाट घाइते बनेका ती पुरुषको उपचारको क्रममा भोलिपल्ट कलैया अस्पतालमा मृत्यु भएको थियो ।समुदायमा आधारित प्रसुति गृहमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई कलैया लगिएको थियो । नियन्त्रणमा लिइएका चालक खरेललाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिनुभयो ।

पसाहामा बस दुर्घटना, १४ जना घाइते
पुष्पराज खतिवडा
बारा,पूर्वश्चिम लोकमार्गको निजगढ– पथलैया सडक खण्डको पसाहामा पुलनजिक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने राजमार्गको पसाहा खोला पुल नजिक बिहीवार बिहान मलङगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको हो । यात्रु बस अनियन्त्रित भएर सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । बर्षा भईरहेको समयमा पूर्वपश्चिम लोकमार्गमा अर्को बसलाई उछिन्ने क्रममा सो बस उछिट्टिएर सडकभन्दा उतरतर्फ पल्टिन पुगेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा १ जना महिला गम्भीर घाइते भएकी छिन् । रौतहटकी अन्दाजी ४२ वर्षकी सन्झा देवी गम्भीर घाइते भएकी हुन् । उनको छातीमा चोट लागेको हुँदा थप उपचारकोलागि वयोधा अस्पताल रिफर गरिएको छ ।
यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अवस्था मध्यम हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३६ वर्षीय तिरजा उप्रेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २० बर्षकी लक्ष्मी घिसिङ रहेका छन ।
त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय नवराज आचार्य, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय आशा तामाङ, सोही उपमहानगरपालिका वडा नम्बर १४ बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारी, कलैया उपमहानगरपालिका वडा नम्बर १३ बस्ने २५ वर्षीय रिकदेवप्रसाद यादव, रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ बस्ने ३३ वर्षीय लालबाबु दास, सोही स्थानका २४ वर्षीय कैलास यादव, ३२ वर्षीय राम उदगर साह, १७ वर्षीय राकेशकुमार यादवको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरुको सिमराको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।बसमा २५-२६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
बस चालक सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीय जयनारायण महतो भने फरार रहेकाले खोजी कार्य भइरहेको र बसका सहचालक मलङगवाका राकेशकुमार साहलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply