काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाह शुक्रबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भारतको दुईदिने भ्रमण सकेर स्वदेश फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका हुन् । भारत भ्रमणमा जाने क्रममा राष्ट्रपतिसँग भेट नगरेको भन्दै उनको आलोचनासमेत भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेर फर्किएलगत्तै प्रधानमन्त्री शाह पनि शीतल निवास पुगेका थिए ।
राष्ट्रपति कार्यालयका अनुसार भेटवार्तामा प्रधानमन्त्रीको भारत भ्रमण, अध्यादेश तथा सरकारका कामकारबाहीका विषयमा छलफल भएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते सम्पन्न आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा पनि छलफल भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिएका छन् ।

















