जनकपुरधाम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मधेश प्रदेशका भूमिसम्बन्धी समस्या बुझ्न स्थलगत भ्रमणमा निस्किएकी छन् ।
मन्त्री रावल आज जनकपुरधाम पुगेर मधेशका विभिन्न जिल्लामा रहेका भूमिहीन, सुकुम्वासी तथा दलित समुदायले भोग्दै आएका समस्याबारे जानकारी लिन थालेकी हुन् । जनकपुर विमानस्थलमा उनलाई स्वागत गरिएको थियो ।
मन्त्री रावलको सचिवालयका अनुसार भ्रमणको मुख्य उद्देश्य स्थानीय नागरिकका भूमिसम्बन्धी समस्या प्रत्यक्ष रूपमा बुझ्नुका साथै तिनको समाधानका लागि आवश्यक पहल गर्नु हो ।
भ्रमणका क्रममा मन्त्री रावलले सप्तरी, धनुषा र सिरहाका स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । उनले विशेषगरी भूमिहीन र सुकुम्वासी समुदायले भोगिरहेका जग्गासम्बन्धी समस्या, आवासको अभाव तथा अन्य कठिनाइबारे जानकारी लिनेछिन् ।
यस क्रममा मुसहर बस्तीमा समेत पुगेर त्यहाँका नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको छ । भूमिहीन, सुकुम्वासी तथा दलित समुदायका नागरिकसँग अन्तरक्रिया गरी उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिने मन्त्रीको सचिवालयले जनाएको छ ।
स्थलगत भ्रमणबाट प्राप्त सुझाव र समस्याका आधारमा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल गर्ने मन्त्री रावलको तयारी रहेको छ ।
















