रौतहट,लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको पहिलो दिन मंगलवार रौतहटमा एक २२ वर्षीया महिलाको हत्या भएको छ ।जिल्लाको बृन्दाबन नगरपालिका– ९ भुसाहा निवासी तरिमा खातुनको घरपरिवारकै सदस्यले विभत्स रुपमा हत्या गरेको आशंका प्रहरीको छ । हत्यापछि उनको ससुरा शेष अली महम्मदसहित घरका सबै सदस्य फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तरिमा खातुनका श्रीमान शेष आदिल बैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ । श्रीमान विदेशमा रहेको र तरिमाको भतिजा शेष गुडुसँग अचुचित सम्बन्ध रहेको आरोपमा परिवारका सदस्यहरुले कुटपिट गरेको र उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।अनुसन्धानको क्रममा तरिमाको अत्यन्त क्रूरतापूर्वक हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । उनको टाउको पछाडि धारिलो हतियार प्रहार गरी गहिरो चोट पु¥याइएकोछ भने दाहिने पिँडौलामा नीलडाम भेटिएको छ ।

हत्यापछि शव घरकै भुस राख्ने गोठमा गाडिएको अवस्थामा प्रहरीले मंगलवार बिहान फेला पारेको हो । घटनाको पृष्ठभूमि अनुसार, कार्तिक १८ गते श्रीमान साउदी अरब प्रस्थान गरेकै दिन तरिमा जिल्लाको गुजरा नगरपालिका– ७ पल्टुवास्थित माइतीघर पुगेकी थिइन ।सोही क्रममा भतिजा शेष गुडुसँगै बसेको देखेपछि छिमेकीले दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएका थिए । छलफलपछि ससुरा शेष अलि महम्मदले दुवैलाई बुझेर घर लगेको २० दिन नबित्दै उनको हत्या भएको हो ।तरिमाको डेढ वर्षको एक छोरा मोहमद आरिफ छन ।
हत्या भएपछि घरपरिवारका सदस्य फरार रहेको र बालकलाई समेत बेपत्ता पारिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा विस्तृत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।महिलाहरुले अधिकार, न्याय र सुरक्षित जीवनका लागि आवाज उठाउन अभियान चलिरहेका बेला घरपरिवारकै सदस्यबाट गरिएको हत्या घटनाले स्थानीयमा ठूलो आक्रोश पैदा गरेको छ ।

Leave a Reply