काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण गरेका ८३८ जना विशेषज्ञ चिकित्सकलाई देशका सातै प्रदेशमा खटाएको छ । विशेषज्ञ चिकित्सकको परिचालनसँगै उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने नागरिकको बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा खटाइएको छ । बागमतीमा २०८ जना, कोशीमा १५४ जना, लुम्बिनीमा १३३ जना र गण्डकीमा १२९ जना चिकित्सक परिचालन गरिएको छ ।

त्यसैगरी मधेस प्रदेशमा ८६ जना, सुदूरपश्चिममा ७६ जना र कर्णाली प्रदेशमा ५२ जना विशेषज्ञ चिकित्सक खटाइएको मन्त्रालयले जनाएको छ ।

परिचालन गरिएका कुल चिकित्सकमध्ये ५११ जना प्रदेशका स्वास्थ्य मन्त्रालयमा र बाँकी ३२७ जना संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन् ।

संघीय सरकारले प्रदेशमा पठाएका चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा समेत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ । यसबाट स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ ।

विशेषज्ञ चिकित्सकको परिचालनले एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक उपचार, आँखा, बालरोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवा थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

यसका साथै सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा समेत विशेषज्ञ चिकित्सकको उपलब्धताले महत्त्वपूर्ण सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

Leave a Reply