कलैया,नेकपा एमालेका नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विघठन गर्न लागेको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट युवा संघ नेपाल, बारा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टीका इमान्दार नेतालाई कारवाही गरेर भ्रष्टाचारीलाई काखी च्यापेको भन्दै पुर्व युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका नेता पौडेलले असन्तुष्टी व्यक्त गर्नु भयो । उहांँले भन्नुभयो, ‘हामी एमालेलाई एकमना एकताका साथ अघि बढाएर जनताको पार्टी बनाउन लागिरहेका छौ, प्रधानमन्त्री ओली भने दलाल र भ्रष्टाचारीको पार्टी बनाउन लाग्नु भएको छ ।’ त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा जिल्लाका सह इन्चार्ज दिनेशकुमार राईले समाज परिवर्तनका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पौडेलले युवाले स्वरोजगारी सृजना गरेर आफ्नो खुट्टामा उभिनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बाराका कार्यवाहक अध्यक्ष देवनारायण चौधरीले आफुहरु रहेको कमिटी नै बारा जिल्लाको संस्थापन रहेको स्पष्ट पार्नुभयो । युवा संघ बारा जिल्ला कमिटी अध्यक्ष राम यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल, मुक्ति समाजका उपाध्यक्ष श्रीप्रसाद पासवान, किसान महासंघका प्रदेश अध्यक्ष बतहु यादव, खेलकुद महासंघका स्थायी कमिटी सदस्य जवाहिर अंसारी, युवा संघका सचिव अरुण यादवलगायतले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
















