काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीसँग राजनीतिक प्रतिस्पर्धा गर्न कठिन हुने ठानेर विभिन्न पक्षबाट चौतर्फी प्रहार भइरहेको बताएका छन् । पार्टीको सबल पक्ष, गौरवपूर्ण इतिहास र उपलब्धिको प्रभावकारी प्रचार गर्न नसकिएको उनको भनाइ छ ।

मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै महामन्त्री पौडेलले कांग्रेसलाई नेपालको राजनीतिको ‘विश्वविद्यालय’को संज्ञा दिए । अन्य राजनीतिक दलले पनि कांग्रेसबाटै राजनीतिक अभ्यास र संस्कार सिक्ने गरेको उनको दाबी थियो ।

‘कांग्रेस नेपालको राजनीतिको विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो,’ उनले भने, ‘हाम्रो विधान मुलुककै सबैभन्दा समावेशी छ, तर यस विषयलाई हामीले नागरिकस्तरमा प्रभावकारी रूपमा प्रचार गर्न सकिरहेका छैनौँ ।’

पार्टीको गौरवपूर्ण इतिहास र समावेशी विधानलाई जनस्तरसम्म पुर्‍याउँदै समाजका मुद्दालाई प्राथमिकतामा राख्न सके कांग्रेसलाई कमजोर बनाउन नसकिने उनले बताए ।

बैठकमा महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीको पनि आलोचना गरे । सरकारले संसद्लाई हेपेको, महँगीको भार नागरिकमाथि थोपरेको र राष्ट्रियतामाथि प्रहार गरिरहेको उनको आरोप थियो ।

सुनकोसी–मरिन डाइभर्सनदेखि पासपोर्ट प्रकरणसम्मका अनियमिततामा सरकार जोडिएको दाबी गर्दै उनले सरकारका गतिविधिविरुद्ध कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने बताए ।

पौडेलले नागरिकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न पार्टीको कार्यशैलीमा सुधार आवश्यक रहेको पनि औँल्याए । तल्लो तहका पार्टी बैठकमा स्थानीय नागरिकका ज्वलन्त समस्यालाई अनिवार्य रूपमा एजेन्डा बनाउनुपर्ने उनको सुझाव थियो ।

उनका अनुसार वडा तहमा बैठक बस्दा कम्तीमा तीनवटा स्थानीय समस्यालाई छलफलको विषय बनाउनुपर्छ । यसबाट किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्मले कांग्रेसले आफ्ना मुद्दा उठाइरहेको अनुभूति गर्न सक्ने उनले बताए ।

‘वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाका तीनवटा मुद्दा बैठकको एजेन्डा बनून्,’ उनले भने, ‘कुनै किशोर वा किशोरीले मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो भनेर गर्व गर्ने अवस्था बनोस् । ज्येष्ठ नागरिकले कांग्रेसले मेरो बारेमा बोल्यो भनेर महसुस गरून् । समाजका सबै समुदाय, वर्ग तथा जातिले कांग्रेसले हाम्रो विषयलाई आफ्नो एजेन्डा बनायो भन्ने अनुभूति गर्न सकून् ।’

महामन्त्री पौडेलले पार्टीका प्रतिनिधिहरू जिल्ला, पालिका वा वडा तहमा पुग्दा औपचारिक बैठक र कार्यकर्ता भेटघाटमा मात्रै सीमित हुन नहुने बताए । परम्परागत कार्यक्रम शैली परिवर्तन गरी स्थानीय समस्या र जनताका सरोकारलाई पार्टीको छलफलमा समेट्नुपर्ने उनको जोड थियो ।

‘अगाडि मञ्चमा गएर सबै जनाले एकै प्रकारको भाषण गर्ने पुरानो शैली अब हामीले बदल्नुपर्छ,’ उनले भने, ‘पार्टीको प्रतिनिधि भएर जिल्ला, पालिका वा वडामा जाँदा मान्छे मात्र जोड्ने होइन, त्यहाँका ज्वलन्त मुद्दाहरू पनि सँगसँगै लिएर आउनुपर्छ । समग्रमा हामीले नेपाली समाजलाई कांग्रेससँग जोड्नुपर्छ ।’

Leave a Reply