११ मंसिर, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट संघीय संसद्को अधिवेशन छिटो आह्वान गर्न सरकारमाथि दबाब बढेको छ । लामो समयसम्म संसद् नबोलाउँदा जनसरोकारका विषय र कानुन निर्माणसम्बन्धी छलफल प्रभावित भएको भन्दै पार्टीका नेताहरूले अधिवेशन तत्काल बोलाउनुपर्ने धारणा राखेका छन् ।
रास्वपाका पदाधिकारीहरूका अनुसार सरकारले धेरैभन्दा धेरै कानुन निर्माण गर्ने लक्ष्य राखे पनि संसद् अधिवेशन नहुँदा त्यसले गति लिन सकेको छैन । संसद्मा जनताका समस्या र सरोकारका विषयसमेत उठ्न नपाएको उनीहरूको भनाइ छ ।
‘एकातिर धेरैभन्दा धेरै कानुन बनाउने भनिएको छ । अर्कोतिर जनताका कुरा समेत उठ्न पाएको छैन । यो पृष्ठभूमिमा संसद् अधिवेशन बोलाउनुपर्छ भन्नेमा हामी प्रस्ट छौं,’ रास्वपाका एक पदाधिकारीले भने, ‘अब अधिवेशन बोलाउन ढिलाइ गर्नु हुँदैन ।’
यस विषयमा पार्टी सभापति रवि लामिछानेलाई समेत जानकारी गराइसकिएको ती पदाधिकारीले बताए । सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरी यसलगायतका विषयमा छलफल गरिसकेको उनको भनाइ छ ।
लामिछाने र प्रधानमन्त्री शाहबीच संसद् अधिवेशन आह्वान गर्नेलगायतका विषयमा लामो कुराकानी भएको हुन सक्ने रास्वपाका ती नेताले बताए । उनका अनुसार आगामी सोमबार अर्थात् मंसिर १४ गतेसम्म सरकारले अधिवेशन आह्वान गर्ने विषयमा निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।
मंसिर १४ गतेसम्म पनि सरकारले अधिवेशन बोलाउने मिति तय नगरे पार्टीका नेता तथा सांसदहरूले थप दबाब दिने तयारी गरेका छन् ।
‘कम्तीमा एक साताको समय दिएर अधिवेशन बोलाउनुपर्छ । आगामी सोमबारसम्म पनि सरकारले अधिवेशन बोलाएन भने हामी पार्टीमा छलफल गर्छौं र सरकारलाई भन्छौं, ढिलाइ गर्ने मनसाय भए स्वीकार्य हुँदैन,’ ती नेताले भने ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने व्यवस्था छ । अधिवेशन छिटो बोलाउन दबाब दिइरहेका रास्वपाका नेता तथा सांसदहरूले सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भूमिकाबारे पनि अनौपचारिक छलफल गरेका छन् ।
राजनीतिक रूपमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षमार्फत पनि दबाब सिर्जना गर्न सकिने सम्भावनाबारे छलफल भएको नेताहरूको भनाइ छ ।
संसद्मा ३६ विधेयक विचाराधीन
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा गरी हाल ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा मात्रै २४ वटा विधेयक छलफलका क्रममा रहेका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँचवटा, अर्थ समितिमा चारवटा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन–तीनवटा विधेयक विचाराधीन छन् ।
त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिमा दुई–दुईवटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक छलफलमा रहेको छ ।
राष्ट्रिय सभाका विषयगत समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी एउटा विधेयक राष्ट्रिय सेवा दल विधेयक रहेको छ ।
यसबीचमा संसद्मा थप सातवटा विधेयक दर्ता भएका छन् । संसद्को अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो ।
त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, भवन ९दोस्रो संशोधन० विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक तथा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयक दर्ता भएका छन् ।
त्यस्तै, सभामा प्रस्तुत भएर छलफलको चरणमा रहेको डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक पनि विचाराधीन छ ।
समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुईवटा विधेयकसमेत रहेका छन् । संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को प्रतिवेदन संसदीय समितिले सभामा पेस गरिसकेको छ ।
संसद्को बर्खे अधिवेशन २०८३ असोज १६ गते अन्त्य भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए । त्यसयता नयाँ अधिवेशन आह्वान हुन सकेको छैन ।

















