काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पुरानो अदालती विवाहलाई परम्परागत सांस्कृतिक विधिअनुसार पूर्णता दिने तयारीमा जुटेका छन् । निकटस्थ स्रोतका अनुसार उनले आगामी मंसिर १७ वा १८ गते विवाह समारोह आयोजना गर्ने तयारी गरेका हुन् ।

गुरुङले करिब ७–८ वर्षअघि नै अदालती प्रक्रियाबाट विवाह गरेका थिए । तर त्यसबेला परम्परागत तथा सांस्कृतिक विधिअनुसार विवाह समारोह आयोजना भएको थिएन । अहिले भने दुवै परिवारको उपस्थितिमा गृहजिल्ला गोरखामा विवाह गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

विवाह समारोहका लागि गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निमन्त्रणा गरिसकेका छन् । उनले हालै लामिछानेलाई निवासमै पुगेर भेट गरी विवाहमा सहभागी हुन निम्तो दिएको बताइएको छ ।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि विवाह समारोहमा आमन्त्रण गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको समय मिलाउन गृहमन्त्रीको तर्फबाट प्रयास भइरहेको निकटस्थ स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अदालती विवाहपछि गुरुङकी पत्नी अमेरिका गएकी थिइन् । केही समयअघि मात्रै उनले अमेरिकाको बसाइ स्थायी रूपमा त्यागेर नेपाल फर्किएकी छन् ।

गृहमन्त्री गुरुङले अहिले परम्परागत रूपमा विवाह समारोह आयोजना गरी पारिवारिक जीवनलाई नयाँ ढंगले अघि बढाउने योजना बनाएको बताइएको छ । यद्यपि विवाहको मिति र समारोहबारे औपचारिक घोषणा भने भइसकेको छैन ।

Leave a Reply