काठमाडौं । साउदी अरबमा भएको हवाई आक्रमणका क्रममा एक नेपाली कामदारको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयले बिहीबार उनको निधनबारे जानकारी पाएको प्रवक्ता क्षेत्रीले बताए ।
उनका अनुसार मृतक नेपाली कामदारको शरीरको करिब ६८ प्रतिशत भाग जलेको थियो । गम्भीर अवस्थामा अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा निधन भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार पछिल्ला दिनमा साउदी अरबमा हुथी विद्रोहीले मिसाइल तथा ड्रोनमार्फत आक्रमण गर्ने प्रयास गरिरहेका छन् । ती आक्रमणलाई साउदीको हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पार्ने क्रममा खसेका टुक्राबाट आगलागी तथा मानवीय क्षतिका घटना भएका हुन् ।
प्रवक्ता क्षेत्रीका अनुसार अहिलेसम्म यस्ता घटनामा चार जना नेपाली प्रभावित भएका छन् । उनीहरूमध्ये एक जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने दुई जना गम्भीर घाइते अवस्थामा उपचाररत छन् । एक जनाको भने मृत्यु भएको छ ।
घाइते नेपालीको अवस्थाबारे जानकारी लिन अस्पताल पुग्ने तथा मृतकको शव नेपाल ल्याउने प्रक्रिया साउदी अरबस्थित नेपाली दूतावासले अघि बढाएको मन्त्रालयले जनाएको छ ।
दूतावासले घाइतेको उपचारबारे निरन्तर जानकारी लिने, शव स्वदेश ल्याउन आवश्यक समन्वय गर्ने र साउदीमा रहेका नेपाली समुदायलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गर्ने काम गरिरहेको प्रवक्ता क्षेत्रीले बताए ।
नेपाल सरकारद्वारा दुःख व्यक्त
साउदी अरबमा हालै भएका आक्रमणमा एक नेपाली नागरिकको मृत्यु र अन्य तीन जना घाइते भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ ।
सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइते नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

















