पुष्पराज खतिवडा
बारा,कृषिमा यान्त्रीकरण जरुरी भएको मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनादर्नसिंह क्षेत्रीेले बताउनुभएको छ ।मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय नक्टाझिजले बाराको कोल्हबी नगरपालिका ४ सपहीमा आयोजना गरेको २२औं राष्ट्रिय धान दिवस एवं रोपाँई महोत्सवलाई सम्बोधन गर्नुहुदै मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
“धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारा सहित साना किसान कृषि सहकारी संस्था लि. सपहीसँगको सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथी क्षेत्रीले कृषिको सहजताका लागि मधेश प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
मधेशको कृषि उत्पादनले देशलाई आवश्यक खाद्यान्नको माग पुरा गर्न सक्ने गरी काम भरहेको उहाँले बताउनुभयो । “मधेश अन्नको भण्डार हो । तर मधेशलाई नै यहाँको उत्पादनले अहिलेकै अवस्थामा पुग्दैन । यद्यपि मधेश प्रदेशलाई आत्मनिर्भर बनाउँदै देशभरीको आवश्यकता यहाँबाट पुरा गर्ने लक्ष्यमा छौं । लक्ष्य तत्काल पूरा त नहोला तर सरकार लागेपछि अवश्य हुनेछ ।” मन्त्री क्षेत्रीले भन्नुभयो ।उहाँले रोपाईका बेला रसायनिक मलको अभाव खेप्नु परिरहेको दुःख व्यक्त समेत गर्नुभयो । संघ सरकारले खरिद गरी अनुदानमा उपलब्ध गराउँदै आएको रसायनिक मलको अभाव स्थानीय र प्रदेश सरकारले पुरा गर्न असम्भव रहेछ । माग अनुसार आपूर्तिका लागि स्वदेशमै मलको कारखाना खोल्नुपर्ने हुन्छ । हाल संघ सरकारले खरिद गर्ने मलको ३५ प्रतिशत मधेश प्रदेशमा आउने गरेको भन्दै मन्त्री क्षेत्रीले यसको प्रतिशत बढाइदिन संघ सरकारसँग कुरा भइरहेको बताउनुभयो ।
यस्तै मन्त्रालयका सचिव डा.उमेश दाहालले कृषिको विकास अपरिहार्य रहेको बताउनुभयो । कृषिमा सिँचाइ, कुलोपैनी, गुणस्तरीय बिउ, विषादी र उपकरणको प्रयाप्तताले मात्रै कृषिको विकासमा योगदान पुग्नेभन्दै मधेश सरकारको कृषि मन्त्रालय सिँचाइ र पूर्वाधारका कार्यक्रम मार्फत किसानलाई सहयोग गर्न लागिपरेको बताउनुभयो ।कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरीले ग्रामीण महिलाहरुको जीवन सुधारमा साना किसान सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले केही वर्षअघि खोलिएको सहकारीले आर्थिकसंगै कृषि क्षेत्रमा गरेको योगदान सहनीय रहेको बताउनुभयो ।
सहकारी कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा बिउ प्रशोधन उद्योग स्थानपान गरेको छ । बिउ आत्मनिर्भर कार्यक्रमबाट ७० लाख रुपैंया बराबरको गोदाम, ५० लाख रुपैंयाको लागतमा निर्माण एवं खरिद मेशिनरी सहितको उद्योगको मन्त्री क्षेत्रीले रिवन काटेर उद्घाटन समेत गर्नुभयो ।संस्थाले उद्योग नजिकै रोपाईको व्यवस्थापन गरेको थियो । उक्त स्थानमा मन्त्री क्षेत्री, सचिव दाहाल, नगरप्रमुख चौधरी, उपप्रमुख लक्ष्मीकुमारी चौधरी, कृषि विकास निर्देशनालयका प्रमुख एवं निर्देशक जीतेन्द्र यादव, कृषि ज्ञान केन्द्र बाराका राजनारायण साह, पर्साका रामजीवन ठाकुर, साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष नयनकलालगायत सयौं सदस्यले रोपार्इँमा सहभागी भएर धान रोप्नुभएको थियो ।कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहीका मुख्य प्रबन्धक अरुण चौधरीको स्वागत एवं संचालनमा सम्पन्न भएको थियो ।त्यसैगरी निजगढ नगरपालिकाले आइतवार निजगढ नगरपालिका वडा नम्बर १० स्थित शान्तिटोलमा विविध कार्यक्रमसहित धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाएको छ ।स्थानीय किसान राजन अधिकारीको खेतमा रोपाइँ गरेर नगरपालिका कार्यालयले धान दिवस मनाएको हो ।
निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, विभिन्न वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कृषक समूहहरु, सहकारीकर्मीहरु, सञ्चारकर्मीहरु तथा नगर कार्यपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।‘धान बालीमा सघनता, खाद्य सुरक्षा तथा आत्मनिर्भरता’ भन्ने नाराका साथ २२औं राष्ट्रिय धान दिवस– २०८२ मनाइएको हो । धान दिवसको अवसरमा कृषकहरूप्रति सम्मान प्रकट गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर बन्न सक्ने क्षमता विकास गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।कार्यक्रममा रोपाईं, परम्परागत सांस्कृतिक झाँकी र कृषकहरुको सहभागितामा विशेष सांस्कृतिक गतिविधिहरु पनि समावेश गरिएका थिए ।














