वीरगन्ज,पर्सामा क्रियाशील विद्यार्थी संगठनहरुले कोरोना कहर र निषेधाज्ञाका कारण विगत दुई महिनादेखि बन्द रहेका शिक्षण संस्थाहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि सन्चालन गर्न स्थानीय प्रशासनसंग माग गरेका छन् । नेपाल विधार्थी संघ, अनेरास्ववियु र राष्ट्रिय विद्यार्थी संघले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै शिक्षण संस्थाहरु सन्चालन गर्न माग गरेका हुन् ।
पर्सामा पछिल्लो केहि दिनयता कोरोना संक्रमणको चेनब्रेक भइ संक्रमितको संख्या निक्कै कम भइसकेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि विद्यालय र क्याम्पसहरु सन्चालन गर्न विद्यार्थी संगठनहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका हुन् ।
कोरोना संक्रमण कम हुदै गएर जनजीवन सहज बन्दै गएकाले शिक्षण संस्थाहरु पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर सन्चालन गर्नु पर्ने विद्यार्थी संगठनहरुको माग छ । तर कोरोना संक्रमणको जोखीम अझै कायम रहेकाले दुई सिप्mटमा विद्यालय सन्चालन गर्नु पर्ने माग पनि उनीहरुको रहेको छ । यस्तै विद्यार्थी संगठनहरुले निषेधाज्ञा अवधिभरको शुल्क मिनाहा गर्नु पर्ने, अतिरिक्त शुल्क वृद्धि गर्न नपाइने, अङग्रेजी माध्यममा पठनपाठन भइरहेका सामुदायिक विद्यालयमा शुल्क बढी लिइएकाले उचित मापदण्ड तोकेर शुल्क निर्धारण गर्नु पर्ने र विद्यार्थी संगठनहरुको सहभागितामा विद्यालयहरुको अनुगमन गर्नु पर्ने माग पनि गरेका छन् । तीन विद्यार्थी संगठले शिक्षण संस्था संचालनको माग गर्दै शिक्षा समन्वय इकाइ पर्सा, वीरगन्ज महानगरपालिका, एन प्याब्सन र प्याब्सन पर्सालाइ पनि ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा नेविसंघ पर्साका कार्यवाहक अध्यक्ष विकेश पटेल, अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादव र राष्ट्रिय विद्यार्थी संघ पर्साका अध्यक्ष विक्की राज पटेलको हस्ताक्षर रहेको छ ।