नरेश गुप्ता

बरियारपुर,स्थानीय तहको चुनाव हुने समय नजिकिदै गर्दा यतिबेला बारा जिल्लामा उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त रहेका छन ।

स्थानीय पालिकामा विगत साढे चार वर्षको स्थानीय सरकारको कामको मुल्यांकन गर्ने तथा सक्षम, कुशल र बिकासप्रेमी उम्मेदवारलाई मत दिएर विजयी बनाउने मतदाताहरुको चाहाना रहेको पाइएको छ ।

बाराको महागढीमाई नगरपालिकामा पनि मेयर पदका प्रत्यासीहरुबीच निकै कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित उपेन्द्रप्रसाद यादव पुनः दोस्रो कार्यकालको लागि चुनावी मैदानमा रहनुभएको छ ।

त्यसैगरी नेकपा एमालेबाट मेयरका अर्का प्रत्यासी महागढीमाई नपा १० गंजभवानीपुर निवासी राजाबाबु साह, जसपा नेपालबाट महागढीमाई नगरपालिका २ बरियारपुर निवासी रामबाबु यादव, नेकपा माओवादी केन्द्रबाट सचिन कुशवाहा पनि चुनावी दौडमा रहनुभएको छ ।

महागढीमाई नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट तारादेबी कानु, नेकपा एमालेबाट उपप्रमुखमा पुष्पाञ्जली देबी, जसपा नेपालबाट अनिता देबी यादव, नेकपा माओवादी केन्द्रबाट सोसिला जैसवाल उम्मेदवार बन्नुभएको छ ।

एकीकृत समाजवादीबाट नगर प्रमुखमा अजमद अली अंसारी र उपप्रमुखमा ममता साह चुनावी प्रतिस्पर्धामा छन । ११ वटा वडाहरु रहेका महागढीमाईमा बिकासको सम्भावना प्रचुर रहेको छ । आन्तरिक एव बाह्रय पर्यटन क्षेत्रको बिकासको लागि बिश्व प्रसिद्ध गढीमाई मन्दिर क्षेत्रको बिकास हुन जरुरी रहेको छ ।

चुनावी दौडमा रहेका उम्मेदवारहरुले नगरको विकासको लागि विभिन्न प्रभावकारी योजनाहरु ल्याउने प्रतिबद्धता लिएर मतदाताहरुको घर आँगनमा पुगिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here