जनकपुरधाम । सिरहाको गोलबजारमा साइकलयात्रीलाई ठक्कर दिएर फरार भएका स्कर्पियो चालकलाई प्रहरीले तीन दिनपछि पक्राउ गरेको छ । प्रहरीले दुर्घटनामा संलग्न स्कर्पियोसमेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कर्पियोको ठक्करबाट साइकलयात्री बसन्त महराको मृत्यु भएको थियो ।

गोलबजारबाट निपनिया चोकतर्फ जाँदै गरेका करिब ५० वर्षीय महरालाई सिल्भर रंगको स्कर्पियोले ठक्कर दिएर फरार भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका महराको गोलबजार हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले दुर्घटनामा संलग्न बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कर्पियो पहिचान गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सिरहाको मिर्चैया नगरपालिका–४ बाह्नबिघा निवासी करिब ४२ वर्षीय बिहारी महरालाई चालकका रूपमा पहिचान गरी पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंसिर १० गते बिहान करिब १०ः५० बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित एक घरमा लुकाइछिपाइ राखिएको अवस्थामा स्कर्पियो फेला पारेको थियो ।

प्रहरीले चालकलाई सवारीसाधनसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply