मकवानपुर । बागमती प्रदेश प्रहरीले मकवानपुर, धादिङ र सिन्धुलीका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी गरेको छ । प्रहरीले एक साताको अवधिमा तीन जिल्लाका गरी ८ बिघा ५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मंसिर १ देखि ८ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानमा ९५ जना प्रहरी परिचालन गरिएको थियो । लागूऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अन्तर्गत चाडपर्वपछि लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा बढी मकवानपुरमा गाँजा खेती फेला परेको थियो । मकवानपुरका विभिन्न स्थानमा ५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको छ । त्यस्तै, धादिङमा २ बिघा १२ कठ्ठा र सिन्धुलीमा १३ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ ।
अभियानका क्रममा मकवानपुरमा ५०, धादिङमा २० र सिन्धुलीमा २५ जना प्रहरी परिचालन भएका थिए । तीनवटै जिल्लामा गरी ९५ जना प्रहरी खटिएर अवैध खेती नष्ट गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० राजेन्द्रप्रसाद धमलाले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत गाँजा खेती हुने उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी फडानीलाई निरन्तरता दिइएको बताए ।
उनका अनुसार कार्ययोजनाअनुसार अवैध गाँजा खेती नष्ट गर्नुका साथै जोखिमयुक्त क्षेत्रको पहिचान, निगरानी र नियन्त्रणका गतिविधिलाई समेत प्राथमिकतामा राखिएको छ । प्रहरीले आगामी दिनमा पनि लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ ।

















