पुष्पराज खतिवडा
बारा,सिमरा–कोल्हबी सडकअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना– बडहर्वा– रामनगर सडकखण्ड जीर्ण हुँदा सो सडकबाट आवतजावत गर्ने सर्वसाधारणले सास्ति खेप्दैआएका छन ।जिल्लाको सिमराबाट कोल्हबी हुँदै रौतहट जिल्लाको विभिन्न पालिकासम्म पुग्ने बाराको महत्वपूर्ण सडकको रुपमा रहेको सोसडकमा कालोपत्रे र मर्मत गर्न जीतपुरसिमरा उमहानगरपालिकाले चासो नदेखाएपछि जीर्ण सडकमा यात्रा गर्नुपर्दा सर्वसाधारणले सास्ति खेप्नुपरेको हो ।
जीतपुरसिमरा उमहानगरपालिकालाई पालिकाको पूर्वी र ग्रामीण क्षेत्रसँग जोड्ने यो सडक जीर्ण हुँदा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन् । लामो सयमदेखि मर्मत नहुँदा सडकको बिचबीचमा ठुला ठुला खाडल बनेका छन् । विशेषगरी जीतपुरसिमरा उमहानगर पालिकाको वडा नम्बर १५ को डुमरवानादेखि वडा नम्बर १८ को बडहर्वासम्मको सडक खण्डको अवस्था नाजुक बनेको छ । यहाँको ३ किलो मिटरको सडक क्षेत्रमा सयौं ठुला खाल्डाखुल्डी छन् ।
यस्तै वडा नम्बर १८ को बडहर्वादेखि उपमहानगरको सूदुर पूर्वको वडा नम्बर १७ रामनगरसम्मको अवस्था पनि उस्तै छ । ठाउँटाउँमा धेरैवर्षअगाडि गरिएको कालोपत्रे उप्किएर जताततै खाल्डा बनेका हुन । उपमहानगरपालिकाले सडक मर्मतमा कुनै चासो नदेखाउँदा जोखिम बढेको हो ।
त्यसैगरी कच्ची सडकका कारण उडेको धुुलोले सडक क्षेत्रका गाउँघरका बासिन्दा आजित बनेका छन । हिउँद याममा सडकमा गुड्ने सवारीले उडाउने धुलोका कारण मानिसहरुमा आँखा, फोक्सो लगायतका समस्या देखिन थालेको स्थानीयले बताएका छन । सडकको धुलो पसेर घर नै धुलाम्य हुने गरेको र गाउँका वृद्ध र बालबालिकाहरु बिरामी पर्ने गरेको रामनगरका स्थानीय आत्मादेव भट्टराईले बताउनुभयो । बर्षायाममा भने सडक हिलाम्मे हुने र आवागमनमा कठिनाइ बेहोर्नु परेको उहाँको भनाई छ ।
सिमरास्थित ठूला कम्पनीहरु हुलास, जगदम्बा स्टील कारखनाका मजदुर, सिमरा विमानस्थल, जिल्ला वन कार्यालय, बित्तीय बैंकहरु, नगर अस्पताल पुग्ने विरामी, विद्यालय र कलेज पढ्न जाने विद्यार्थी,पालिका कार्यालयका सेवाग्राही र हाट बजार भर्न जानेसर्वसाधारणले प्रयोग गर्ने गरेकोले यो सडक महत्वपूण भएको भट्टराईको भनाई छ ।
जिल्लाकै कोल्हबी नगरपालिकाले भने आफ्नो क्षेत्रमा पर्ने यो सडकको अधिकांश भागमा कालोपत्रे गरिसकेको छ । यस्तै कोल्हबीबाट रौतहट जिल्लामा चन्द्रनिगाहपुर– गौर सडकको बालचनपुरसम्मको क्षेत्र पनि रौतहटको गुजरा नगरपालिकाको पहलमा धेरैअघि नै कालोपत्रे भइसकेको छ ।
जीतपुरसिमरा उमहानगरपालिकामा पर्ने करिब ८ किलोमिटर सडक भने लामो समयदेखि जीर्ण छ । जीतपुरसिमरा वडा नम्बर १४ दुधौरा खोला पुलदेखि वडा नम्बर १७रामनगरको काँटखोलासम्मको खण्ड उपमहानगरपालिकाको बेवास्तामा परेको हो ।
बजेट बाँडफाँडमा उपमहानगरपालिकाका मेयर राजन पौडेलले आफुअनुकुल बजेट विनियोग गर्दासमेत यो सडकको स्तरसुधार प्राथमिकतामा नपरेको स्थानीयले गुनासो गरेका छन । नगर प्रमुख पौडेलले नदेखे झै गरेको उक्त जीर्ण सडकमा उपप्रमुख भोलाप्रसाद अधिकारीसहित सो क्षेत्रका वडाअध्यक्षहरु रामप्रसाद लामिछाने, चतुबाबु वाग्लेको पनि आँखा नपर्नु दुःखद भएको वडा नम्बर १८ की स्थानीय नयनकला खड्काले बताउनुभयो ।‘समान्य मर्मतको लागि समेत जनप्रतिनिधिहरुले चासो नदेखाउनुगम्भीर विषय हो, स्थानीय सामाजिक अगुवा खडकाले भन्नुभयो, यसबाट जनप्रतिनिधिहरु जनताको समस्याप्रति उदासिन बनेको प्रष्ट हुन्छ ।’बिरामी, मजदुर, विद्यार्थीलगायत दैनिक हजारौं सर्वसाधारणले प्रयोग गर्ने यो सडकको तत्काल स्तर सुधार गरिनुपर्ने उहाँको माग छ ।यता जीतपुरसिमरा उपमहानगपालिका नगरप्रमुख राजन पौडेलले सो सडक नियमित रुपमा मर्मत भइरहेको बताउनुभयो । ‘कार्यालयबाट नियमित रुपमा हुने मर्मतको काम भइ नै रहेकोछ, उहाँले भन्नुभयो, अबका दिनमा यसलाई प्राथमितामा राखेर काम गर्नेछौं ।’ यो सडक पालिकाभित्र परेपनि सडक विभागको अधिकार क्षेत्रमा पर्ने भन्दै मर्मत र कालोपत्रे गर्न विभागलाई दवाव दिईने उहाँले बताउनुभयो ।