कृष्ण मोहन साह
सेढवा,पर्साको ग्रामीण क्षेत्रमा बन्द भएको गाँजा खेती फेरि सुरु भएको छ । प्रहरी प्रशासनले कडाइका साथ कारबाही अभियान थालेपछि पर्सामा २०६७ सालदेखि पूर्णरुपम बन्द भएको गाँजा खेती अहिले भने फेरि सुरु भएको हो ।पर्साको सोनवर्षा, शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवनमथवल, निर्मलवस्ति, बिजय बस्ती, जितपुर, निचुटा, प्रसौनीविर्ता, सखुवाप्रसौनी, गादी, बागेश्वरी तित्रौनालगायतका साविकका गाविसहरुमा किसानहरुले गाँजा रोपेको स्थानीयवासीले बताएका छन् ।चितवन राष्ट्रिय निकुन्ज र पर्सा वन्यजन्तु आरक्षको जंगलसंग जोडिएका बस्तीहरुमा गाँजा खेती गरिएको छ ।यस्तै कारोबारी र किसानहरुले वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि गाँजा रोपेका छन् । १० ,१२ वर्षदेखि गाँजाको खेती बन्द भएका कारण पर्सामा बिउको अभाव भएपछि यहाँका किसानहरुले मकवानपुरका पहाडी क्षेत्रबाट बिउ ल्याएर गाँजा रोपेका हुन् । कतिपय स्थानमा भने किसानहरुले गाँजाका कारोबारीहरुको लगानीमा गाँजाको खेती गरेको गाँउलेहरुले बताएका छन् ।तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले भने आफुलाइ पर्सामा गाँजा खेती सुरु भएको बारेमा जानकारी नभएको र अब त्यस क्षेत्रमा टोली नै परिचालन गरेर गाँजा खेतीमा संलग्नलाई कारबाही गरिने बताउनुभयो ।यसैबीच पर्साको जिराभवानी गाउँपालिकामा प्रहरीले अबैध रुपमा लगाइएको पाँच कठ्ठा क्षेत्रफलको गाँजा खेती फाडेर नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायव निरीक्षक अजयकुमार ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ सहजानपुरमा अबैध रुपमा लगाइएको पाँच कठ्ठा क्षेत्रफलको गाँजा खेती फाडेर नष्ट गरेको हो ।गाँजा खेती कस्को हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
















