वीरगञ्ज,वीरगञ्ज – ८ का प्रेमकुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गर्नुभएको छ । वीरगञ्ज पब्लिक कलेज अगाडि रहेको मन्दिरसहितको जग्गा टिबडेवालले महानरलाई रजिष्ट्रेसन पास गरेर हस्तान्तरण गर्नुभएको हो । जिल्ला मालपोत कार्यालय पर्सामा मंगलवार रजिष्ट्रेसन पास गरेर टिबडेवालले महानगरलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो । मालपोतमा लाग्ने लाभकरसमेत आफैंले तिरेर टिबटेवालले अहिलेको बजार मूल्य अनुसार करिब ५ करोड भन्दा बढी मूल्यको जग्गा महानगरलाई दान गर्नुभएको हो ।जग्गा हस्तान्तरण गर्दै टिबडेवालले खुला स्थान नरहेको स्थानमा नागरिकलाई सहज होस भनेर सार्वजनिक प्रयोगका लागि आफूले महानगरको नाममा जग्गा उपलब्ध गराएको बताउनुभयो ।विगतमा सार्वजनिक हितका लागि नै मन्दिर बनाएर उक्त जग्गा प्रयोग भइरहेको र आउने दिनमा झनै व्यवस्थित गर्दै महानगरले पार्क बनाइदियोस भन्ने उहाँको इच्छा छ । ‘हामीले त यो जग्गा पब्लिक प्रयोगकै लागि राख्ने भनेर पहिलेदेखि मन्दिर बनाएर छाडेका थियौँ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई अझै व्यवस्थित बनोस भनेर अहिले महानगरलाई हस्तान्तरण गरेका हौँ ।’
महानगरको नाममा रजिष्ट्रेसन गरिएको जग्गा धनीपूर्जा ग्रहण गर्दै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता टिबडेवाललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।कतिपय व्यक्तिहरु सार्वजनिक जग्गा अतिक्रमण गरेर प्रयोग गर्न उद्धत भइरहेको अवस्थामा टिवडेवालले करोडौँ पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई दिनु सहनीय कार्य रहेको भन्दै सबैका लागि उदाहरणीय बन्नु भएको पनि बताउनुभयो । वडा नम्वर ८ का वडाध्यक्ष रितेशकुमार गुप्ताको सक्रियतामा मंगलवार जग्गा दाता टिबडेवालले जग्गा नामसारी गरेर महानगरको नाममा रजिष्ट्रेसन गरेर हस्तान्तरण गर्नुभएको हो ।



















