वीरगंज ५ असोज ।
मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकिकृत भन्सार जांच चौकी आईसिपी वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९/०८० को २ महिना अर्थात् साउन भदौमा २७ अर्ब १३ करोड २४ लाख ३६ हजार रुपैयां राजस्व असुली गरेको छ ।
भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई २ महिनामा ३४ अर्ब ४९ करोड ९६ लाख राजस्व असुलीको लक्ष्य तोकेको भए पनि लक्ष्य भन्दा झण्डै २१ प्रतिशत कम राजस्व असुली भएको छ ।
चालु आर्थिक वर्षको २ महिनामा वीरगंज नाकाबाट हुने मालवस्तुको आयात निर्यात घट्नुको साथै भन्सारको यार्डमा अहिले १८ सय भन्दा बढी नयां गाडी जांचपास हुन नसकेर थन्किएको कारण राजस्व असुली प्रभावित भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले बताउनु भयो ।
वीरगंज भन्सार कार्यालयको यार्डमा अहिले झण्डै ९ अर्ब रुपैयां बराबरको गाडी थन्किएर बसेका छन् । त्यसैगरी सरकारले ड्राइ फुड, प्लाष्टिक जन्य खेलौना आदि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको प्रमुख भन्सार अधिकृत चुडालले बताउनुभयो ।
यसैगरी वीरगंज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ ९ अर्ब ८० करोड ९१ लाख २५ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ १२ अर्ब १२ करोड ३० लाख १५ हजार राजस्व असुली भएको छ । त्यसैगरी अन्त शुल्क तर्फ २ अर्ब ४१ करोड ६४ लाख ६८ हजार असुली गरेको चुडालले बताउनुभयो ।
त्यसैगरी वीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ १ अर्ब ६९ करोड ३ लाख १५ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ १७ करोड १ लाख ६६ हजार असुली गरेको छ । यसैगरी वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ ४६ करोड ४७ लाख ८० हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ३८ करोड ३३ लाख ५ हजार राजस्व असुल गरेको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आईसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७÷७८ को साउन भदौ महिनामा ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार रुपैयां राजस्व असुली गरी लक्ष्य भन्दा झण्डै २ अर्ब बढी राजस्व संकलन गरेको थियो ।
३३ करोड ६० लाख राजश्व संकलन
मधेश प्रदेश ट्राफिक प्रहरीले २ महिनामा ३३ करोड ६० लाख राजश्व सङ्कलन गरेको छ ।
साउन र भाद्रमा प्रदेशका आठ वटै जिल्लामा ट्राफिक नियम विपरीत चलेका ४७ हजार ९६ सवारी साधनलाई कारबाही गरी उक्त रकम बराबरको जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन, भदौ दुई महिनाको अवधिमा प्रदेश भरीमा कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ पुरुष, ११ महिला र ५ बालबालिका गरी ६३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता प्रहरी उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।



















