महोत्तरी । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै प्रचण्डले भ्रमणका क्रममा कुनै नयाँ तथा महत्वपूर्ण उपलब्धि हासिल नभएको बताएका हुन्। कतिपयले भ्रमणलाई विशिष्ट र ऐतिहासिक भन्दै व्याख्या गरे पनि आफूलाई त्यस्तो नलागेको उनको भनाइ छ।
‘मैले हेर्दा यो सामान्य र नियमित भ्रमणका रूपमा बुझेको छु। कोही–कोहीले विशिष्ट, ठूलो र ऐतिहासिक भयो भन्न खोजेका छन्, त्यो सही होइन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री एकपटक जानुपर्ने थियो, जानुभयो। गएपछि केही कुरा भए होलान्, तर नयाँ र तात्त्विक कुरा भयो भन्ने मलाई लाग्दैन।’
प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको भारत भ्रमणका क्रममा उठाइएका विषयको तुलनामा वर्तमान भ्रमणबाट उल्लेखनीय प्रगति नभएको दाबी गरे। आफ्नो भ्रमणका बेला हवाई मार्ग, विद्युत् व्यापार र सीमा समस्यालगायत विषयमा महत्वपूर्ण पहल भएको स्मरण गर्दै उनले अहिले ती विषय सैद्धान्तिक छलफलमै सीमित रहेको टिप्पणी गरे।
‘कम्तीमा सीमाका विषयमा मैले र मोदीजीले सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेका थियौँ। अहिले त्यो स्तरमा पुगेको देखिएन,’ उनले भने।
भैरहवाको हवाई मार्ग, नेपालगन्ज र धनगढीका हवाई मार्गसम्बन्धी विषय पनि आफ्नो कार्यकालमै उठाइएको उल्लेख गर्दै प्रचण्डले अहिलेको भ्रमणमा ती विषयमा ठोस उपलब्धि देख्न नसकेको बताए।
यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमण आवश्यक रहेको उल्लेख गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटघाटलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।
‘तैपनि प्रधानमन्त्री भारत भ्रमणमा जानुपर्थ्यो, जानुभयो। मोदीजीसँग राम्रै अंकमाल गरेर आउनुभयो, त्यसलाई मैले सकारात्मक रूपमै लिनुपर्छ,’ प्रचण्डले भने।

















