कलैया,नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवारको टुङ्गो लगाएपछि बारामा कार्यकर्ताबीच असन्तुष्टि बढेको छ ।विशेषगरी क्षेत्र नम्बर ३ मा ज्वालाकुमारी साहको उम्मेदवारीलाई लिएर कार्यकर्ताबीच विवाद बढेको हो । यसअघि पार्टीको क्षेत्रीय कमिटीको सिफारिसमा नपरेकी साहलाई नै उम्मेदवार बनाएपछि असन्तुष्टि चुलिएको हो ।
क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक निर्वाचनमा साहले जम्मा ४ मतमात्र प्राप्त गरेपछि क्षेत्रीय कमिटीले सिफारिस भएको थिएन । आन्तरिक निर्वाचनबाट पहिलो नम्बरमा पर्नुभएका जिल्ला अध्यक्ष अध्यानन्द पाण्ड्यलाई रोकेर अध्यक्ष ओली निकट भएको आधारमा साहलाई टिकट दिइएको हो ।कार्यकर्ताहरुले अस्वीकार गरेकालाई उम्मेदवार बनाउनु गम्भीर त्रुटी भएको बारा एमालेका कार्यकर्ताहरुको बताएका छन । त्यस्तै, पार्टीको शुरुवाति अवस्थादेखि नै जिल्लामा संघठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका नेताहरूलाई बेवास्ता गरेर टिकट वितरण गरिएपछि थप असन्तुष्टि बढेको हो ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० मा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिन अस्वीकार गर्नुभएका बलवीर चौधरीलाई यसपटक टिकट दिइएको छ । तर, संकटको समयमा पार्टीको साख जोगाउँदै निर्वाचन लड्नुभएका तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले भने यसपटक पनि कुनै क्षेत्रबाट टिकट पाउन सक्नुभएन । एमाले नेताहरूका अनुसार महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट सचिव पदमा उम्मेदवारी दिएका कारण पौडेललाई उपेक्षा गरिएको बताइन्छ ।
बारा एमाले कार्यकर्ताबीच स्वच्छ छवि र लोकप्रिय नेताको रुपमा परिचित पौडेलले यसपटक क्षेत्र नम्बर १ बाट चुनाव लड्ने इच्छा देखाउनुभएको थियो । उहाँको नाम यसपटक बारा क्षेत्र नम्बर १ बाट सिफारिस पनि भएको थियो ।टिकट वितरणमा देखिएको असन्तुलनले बारामा एमालेभित्र गुटगत राजनीति हाबी भएको संकेत दिएको नेताहरू बताएका छन । उनीहरूका अनुसार यसले पार्टी संगठन, कार्यकर्ता मनोवल र आगामी निर्वाचन परिणाममा समेत नकारात्मक असर पार्न सक्ने चिन्ता बढेको छ ।
एमालेको हिजो बसेको पार्टीको सचिवालय कमिटी बैठकले बारा क्षेत्र नम्बर १ बाट अच्युत मैनाली, क्षेत्र नम्बर २ बाट बलवीर चौधरी, क्षेत्र नम्बर ३ बाट ज्वालाकुमारी साह र क्षेत्र नम्बर ४ बाट किसान श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

















