बरियारपुर,गढीमाई मेलामा कर्णाली प्रदेशको जुम्लामा उत्पादन गरेर बिक्रीको लागि राखिएको मार्सी चालम खरिद गर्नेको भिड लाग्ने गरेको छ ।कनेक्ट किसान नामक गैरसरकारी संस्थाले मेला परिसरमा आयोजना गरेको ‘कृषि एक्स्पो गढीमाई– २०८१’ अवलोकनकर्ताहरुले कर्णाली प्रदेशमा किसानले उत्पादन गरेको मार्सी चामलसहित कागुनो, हुम्लाको सिमी, रारा र मुगुको चिनो, स्थानीय बोडी, सिमीदाल लगायत खाद्यान्न मन पराएर खरिद गरेका हुन । मेलामा हालसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट किसानहरुले ल्याएको करिव ५० लाख मूल्य बराबरको खाद्यान्न बिक्री भएको कनेक्ट किसानका राजन दहालले जानकारी दिनुभयो । हिमाली र पहाडी क्षेत्रमा उत्पादन भएको खाद्यान्नप्रति मेला भर्न आउने सर्वसाधारणको आकर्षण देखिएको उहाँको भनाई छ ।
मेलामा कर्णालीसहित गुल्मीको मालिका गाउँपालिकको गुन्द्रुक र सिन्की, नुवाकोट जिल्लाको बेलकोट गाउँपालिकाको अरविक कफी, सर्लाही नवलपुरको मौरीको मह, सिन्धुलीको जुनार र रौतहटको ड्राइगनफ्रुट, झापा र कपिलबस्तुको कालानमकप्रति पनि अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ ।
हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा यस पटक कृषि एक्स्पो विशेष आकर्षणको रुपमा रहेको छ । एक्स्पोमा कृषि औजारप्रति पनि किसानको आकर्षण पाइएको छ । निर्माण कम्पनीहरुले मेलामा आफ्नो उत्पादनमा ५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन । किसानलाई प्रविधि र बरसँग जोड्ने उद्देश्यले मंसिर १८ देखि एक्स्पो सञ्चालन भएको हो ।
कृषि एक्स्पोकी संयोजक सञ्जिता लामिछानेका अनुसार एक्स्पोमा शनिवार ८ देखि १० हजार अवलोकनकर्ताको उपस्थिति रहेको छ । मेलामा देशभरबाट आएका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि तथा किसानहरुको उल्लेखनीय सहभागिता रहेको उहाँको भनाई छ ।
मेलामा प्राविधिकहरुले कृषि प्रविधि, मल, बीउ सम्बन्धमा निःशुल्क परामर्श उपलब्ध गराउदैआएका छन ।१२५ भन्दा बढी स्टलमा कृषिका विविध विधा जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, डेरी, केरा खेती, थोपा सिँचाइ, विषाधिरहित कृषि लगायतका नयाँ प्रविधि र उपकरण प्रदर्शन गरिएको छ । मेलाको मुख्य आकर्षण कृषि सेमिनार रहेको छ, जहाँ किसानहरुले विज्ञहरूसँग परामर्श लिने र अनुभव आदान–प्रदान गर्ने गरेका छन । त्यसैगरी एक्स्पोमा रोबर्टले पनि किसानका समस्या र जिज्ञासको जवाफ दिने गरेको छ ।


















