वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिकाका स्थानीय गाउँपालिका–४ भथौरा निवासी १९ वर्षीय अर्जुन महतो र पटेर्वासुगौली गाउँपालिका–१ गदियानी निवासी ३० वर्षीय असलम अन्सारी रहेका छन । उनीहरूबाट कुल ७६ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको पर्सा प्रहरीको दाबी छ ।

बिहीवार राती जिराभवानी गाउँपालिका– ३ जीतपुर नजिकैको सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले नौकाटोलबाट जीतपुरतर्फ पैदल आउँदै गरेका अर्जुनमाथि शङ्का लागेपछि प्रहरीले उनलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा अर्जुनले दुवै हातमा बोकेको कालो प्लास्टिकको झोलामा ४६ किलोग्राम लागूऔषध गाँजा जस्तो पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास भट्टले इमेलमार्फत जारी गरेको प्रेस नोट अनुसार प्रहरीले अर्जुनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै सोही दिन पर्सा प्रहरीले पटेर्वासुगौली गाउँपालिका–१ को पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पुरानो भाठा नजिकैको सडक खण्डमा नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोस्ट भाठा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको संयुक्त टोलीले चेकजाँच गर्दा भाठा मेलाको ड्युटीबाट फर्कने क्रममा भाठा मन्दिरबाट सिकारीबाँसतर्फ पैदल आउँदै गरेका असलम अन्सारीलाई शङ्कास्पद देखेपछि रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।

असलमले टाउकोमा बोकेको बोराभित्र लुकाई छिपाइ राखिएको ३० किलोग्राम लागूऔषध गाँजा जस्तो पदार्थ फेला परेपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।उनको पनि लागूऔषध सम्बन्धी कसुर मा अनुसन्धान भइरहेको प्रहरीले डिएसपी भट्टले प्रेस नोट मार्फत जानकारी दिनुभएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध नियन्त्रणमा कडाइ गरिरहेको बताउँदै आएको छ । विशेष सूचना र संयुक्त गस्तीमार्फत दुई घटनामा ठूलो परिमाणको गाँजा बरामद भएको हो । पक्राउ परेका दुवै अभियुक्तमाथि लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न भएको आशङ्कामा अनुसन्धान जारी छ ।

Leave a Reply