मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– ९ स्थित कोहिनुर टेक्सटाइल उद्योगबाट निस्किने धुवाँ र छाइका कारण स्थानीय बासिन्दाको जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ । उद्योगको कपडा डाइङ र बोइलरबाट निस्किने प्रदूषणले वरिपरिका किसान, बालबालिका र वृद्धसम्मलाई स्वास्थ्य संकटमा पारेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीय युवा विजय चौधरीका अनुसार, “धुवाँ र छाइका कारण छाती पोल्ने, आँखा पोल्ने तथा सास फेर्न गाह्रो हुने समस्या देखिएको छ । हामी अब चुप लागेर बस्न सक्दैनौँ ।”

केही दिनअघि उद्योग प्रशासनसँग भएको छलफलमा पनि तत्काल प्रभावकारी व्यवस्थापन नभए कडा आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् । सडकदेखि उद्योग गेटसम्म प्रदर्शन गर्ने तयारीमा रहेको उनीहरूको भनाई छ ।
उद्योगका प्रतिनिधि कन्हैया यादवले “छिट्टै व्यवस्थापन गर्छौँ” भन्ने आश्वासन दिए पनि स्थानीयहरु त्यसमा सन्तुष्ट हुन सकेका छैनन ।स्थानीयको स्पष्ट माग धुवाँ–छाइको नियन्त्रण, स्वास्थ्य सुरक्षाका उपाय र सम्बन्धित निकायबाट तत्काल अनुगमन रहेको छ । यदि चाँडै समाधान नभए जनआक्रोशले उद्योग संचालन प्रभावित हुने निश्चित देखिएको छ ।

Leave a Reply