काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज र नियमित बनाउन नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयात, भण्डारण र वितरण प्रणाली पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै बजारको मागअनुसार ग्यास आयात बढाउन, भन्सारमा रोकिएका ग्यास बुलेट समयमै छुटाउन र भण्डारण क्षमता पूर्ण उपयोग गर्न उद्योगहरूलाई आग्रह गरेको हो।

त्यस्तै, ग्यास सिलिन्डर पूर्ण क्षमतामा भरी बजारमा नियमित आपूर्ति सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

निगमले आपूर्ति शृङ्खलामा अवरोध हुन नदिन आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय गर्नुपर्ने जनाएको छ।

यसैबीच, निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ। कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन पनि निगमले सचेत गराएको छ।

Leave a Reply