निजगढ,निजगढमा ५० करोडभन्दा बढीको लगानीमा प्रतिघण्टा ८ टन स्टिम चामल उत्पादन गर्ने क्षमताको जापानी प्रविधिको अत्याधुनिक चामल उद्योग स्थापना भएको छ ।काभ्रेली एग्रो इण्डष्ट्रिज प्रालिको नाममा निजगढ नगरपालिका वडा नम्बर ८ को ध्वजाघाटमा स्थानीय व्यवसायी महेश न्यौपाने र आकाश न्यौपानेमने संयुक्त लगानीमा उद्योग स्थनपना भएको हो ।जापानी सकाटे मेसिनको मात्रै प्रयोग गरेर नेपालमा रहेका ८÷१० वटा उद्योगमध्ये आफ्नो उद्योग पनि एउटा भएको संचालक महेश न्यौपानले दाबी गर्नुभएको छ ।विगत लामो समयदेखि चामल उत्पादन गर्ने उद्योग संचालन गर्दैै आउनुभएका व्यवसायी न्यौपानेले ठूलो लगानीमा आधुनिक प्रविधिको कारखाना स्थापना गर्नुभएको हो । उहाँका अनुसार स्वचालित मेसिनबाट उद्योगले प्रतिघण्टा ८ टन स्टीम चामल उत्पादन गर्ने छ । ‘एकपटक धानको घान हालेपछि मेसिनबाट एकैपटक चामल बोरामा प्याकिङ्ग एर निस्कन्छ, संचालक न्यौपानले भन्नुभयो, अन्तर्राष्ट्रिय बजारको मागलाई ध्यानमा राखेर गुणस्तरीय चामल उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’ न्यौपानेले कारखानाबाट उत्पादन हुने चामलेको ब्राण्ड दर्ता भइसकेको र गुणस्तर चिन्हको लागि पनि प्रकृया चलिरहेको जानकारी दिनुभयो । उद्योगले ‘स्वाद’ र ‘उरिजा’ ब्राण्डमा २० र २५ केजीको प्याकेटमा चामल उत्पादन गर्ने जनाइएको छ । उद्योगमा सोना मन्सुली, कतर्नी र बासपती धानको चामलमात्रै उत्पादन हुने जानकारी दिदै उहाँले नेपालमा पनि उक्त प्रजातिको धान उत्पादनमा उद्योग स्थापनापछि टेवा पुग्ने बताउनुभयो । उहाँले देशभित्र सोनामन्सुली बाहेक अन्य जातको धान उत्पादन अन्यन्त न्यून रहेको पनि जानकारी दिनुभयो । ‘उत्पादन कम हुँदा नेपालमा बार्षिक ४०–४२ अर्बको चामल आयात हुदै आएको छ, यस्तो अवस्थामा उद्योगले धान र चामलमा देशलाई आत्मानिर्भर तुल्याउन मद्दत गर्ने छ ।’ उहाँले उद्योग स्थापना भएपछि नेपाली कृषकले उत्पादन गरेको उन्नत जातको धानले सहज बजार पाउने पनि बताउनुभयो ।काभ्रेली फुड्सको नाममा निजगढमा विगत २५ वर्षदेखि घरमै सेलर मिल राखेर उद्योग संचालन गर्दै आएको न्यौपाने परिवारले डेढ बिगाहा जमिनमा नयाँ कम्पनीमार्फत उद्योग स्थापना गरेको हो । ‘पहिलेदेखि नै यहि क्षेत्रमा काम गरियो, महेशले भन्नुभयो, यो क्षेत्रमा केही अनुभव पनि छ, अब थप राम्रो गरौं भन्ने उद्देश्यले लगानी गरिएको छ ।’उहाँले स्वचालित भएपनि ६ दर्जनभन्दा बढीले उद्योगबाट रोजगारी प्राप्त गर्ने पनि सुनाउनुभयो । कामदार र प्रशासनिक कर्मचारीसमेत गरेर ७० जनाभन्दा बढीले प्रतक्ष्य र सयौंले अप्रक्ष्य रोजगारी प्राप्त गर्ने न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply