काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढेपछि नेप्से परिसूचक १५.३९ अंकले उकालो लागेर २ हजार ६३८ अंकमा पुगेको छ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से २.२६ अंकले बढेको थियो। मंगलबार भने परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज कारोबारमा आएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
बैंकिङ समूह बजार वृद्धिको अगुवाइमा
मंगलबारको बजार वृद्धिमा सबैभन्दा बढी योगदान बैंकिङ समूहको देखिएको छ। बजार पुँजीकरणका आधारमा ठूलो हिस्सा ओगट्ने बैंकिङ समूह १.२४ प्रतिशतले बढेको छ। यस समूहमा लगानीकर्ताको आकर्षण बढ्दा समग्र नेप्से परिसूचकलाई समेत टेवा पुगेको देखिन्छ।
यसैगरी विकास बैंक समूह १.०४ प्रतिशत, होटल तथा पर्यटन ०.९४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६१ प्रतिशत, जलविद्युत् ०.४६ प्रतिशत, लगानी ०.३० प्रतिशत, निर्जीवन बीमा ०.२६ प्रतिशत, जीवन बीमा ०.१४ प्रतिशत, व्यापार ०.९७ प्रतिशत र वित्त समूह ०.०३ प्रतिशतले बढेका छन्।
यता लघुवित्त समूह ०.१८ प्रतिशत र अन्य समूह ०.३९ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रहेको छ। यस समूहका कम्पनीको १ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै बैंकिङ समूहमा १ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
एभरेस्ट कलरको मूल्यमा सबैभन्दा धेरै वृद्धि
मंगलबार एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ। माउन्टेन हाइड्रो नेपालको ३.४२ प्रतिशत, सिटी होटलको ३.०९ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३।०१ प्रतिशत, हिमालयन डिस्टिलरीको २.७९ प्रतिशत र श्वेतगंगा हाइड्रोको २.७८ प्रतिशतले मूल्य बढेको छ।
यसको विपरीत मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ। मेन्छियाम हाइड्रोपावरको ७.२७ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३.५१ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशतले मूल्य घटेको छ।
कारोबारमा सोल्टी होटल अगाडि
कारोबार रकमका आधारमा सोल्टी होटल सबैभन्दा अगाडि रहेको छ। त्यसपछि ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक र एनएमबी बैंक रहेका छन्।
समग्रमा मंगलबारको बजारमा परिसूचक र कारोबार रकम दुवै बढ्नुका साथै अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ। बैंकिङ तथा जलविद्युत् समूहमा भएको उल्लेख्य कारोबारले बजारमा लगानीकर्ताको सक्रियता बढेको संकेत गरेको छ।

















