काठमाडौं, ८ मंसिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक गतिविधिमा अवरोध सिर्जना गर्ने पुराना तथा समयसापेक्ष नरहेका कानुन खारेज र संशोधन गर्नुपर्ने बताएका छन्। उनले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ घटाउन कानुनी व्यवस्थामा व्यापक सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा मन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्।

उनका अनुसार नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक जटिलता र नियामकीय बोझ बढाएको छ। नियमन आवश्यक भए पनि एकअर्कासँग बाझिने कानुनी व्यवस्थाले आर्थिक गतिविधि प्रभावित हुन सक्ने उनले बताए।

मन्त्री वाग्लेले विभिन्न अध्ययन तथा प्रतिवेदनले औंल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए। नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नुभन्दा यसअघि नै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

उनले विगतमा फरक समय र परिस्थितिलाई ध्यानमा राखेर निर्माण गरिएका कानुन अहिलेको प्रविधिमैत्री अर्थतन्त्रमा सान्दर्भिक छन् कि छैनन् भन्ने विषयमा पुनरावलोकन गर्नुपर्ने बताए। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिको विकाससँगै पुराना कानुनी व्यवस्थालाई परिमार्जन गर्नुपर्ने उनको धारणा छ।

‘नेपालमा नयाँ कानुन बनाउने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्ति छ। यसले अनावश्यक रूपमा कानुन थपिँदै जाँदा अर्थतन्त्र अति नियमनको अवस्थामा पुग्ने जोखिम हुन्छ,’ उनले भने।

एउटा कानुनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को कानुनले नियन्त्रण गर्न खोज्दा नीतिगत विरोधाभास सिर्जना हुने उल्लेख गर्दै उनले पुराना र असान्दर्भिक कानुन हटाएर आवश्यक व्यवस्था आधुनिक कानुनमा समेट्नुपर्ने बताए।

अर्थमन्त्री वाग्लेले टिकट टाँस्नेसम्बन्धी ऐन र कालोबजारीसम्बन्धी पुराना कानुनी व्यवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानुन आइसकेपछि पुराना व्यवस्थाको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए।

Leave a Reply