वीरगञ्ज,पत्रकार तथा स्तम्भकार चन्द्रकिशोरलाई दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ राशीको सेवा पुरस्कारबाट सम्मानित गरिने भएको छ ।कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी काठमाडौंले यस वर्षको सेवा पुरस्कार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरेको गुठीका कोषाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । साढे तीन दशकदेखि पत्रकारितामा क्रियाशील चन्द्रकिशोर कान्तिपुर दैनिकको ‘डेटलाइन तराई’ र नेपाली टाइम्स (अंग्रेजी)को ‘बोर्डरलाईन्स’ स्तम्भकार हुनुहुन्छ । उहाँले हिमाल खबर पत्रिकाका लागि ‘देहात संवाद’ स्तम्भ पनि लेख्दै आउनुभएको छ ।

खोज पत्रकारिता केन्द्र नेपालका निवर्तमान अध्यक्ष रहनुभएका चन्द्रकिशोरले मधेस, पहाड र हिमाललाई एकसुत्रमा राख्दै समग्रमा नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई अभिवृद्धि गर्ने कार्यमा गरेको योगदानको सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ ।
नियमित स्तम्भ लेखनका साथै विभिन्न पत्रपत्रिकाहरुमा लेखको माध्यमबाट चन्द्रकिशोरले समसामयिक विषयमा विश्लेषणात्मक रुपमा प्रस्तुत गर्दैआएको विचारको गुठीले प्रशंसा गरेको छ । विशेषगरी मधेश प्रदेशका जिल्लाहरुको स्वास्थ्य, शिक्षा, जातीय विभेद, छुवाछुत र विकास निर्माणको क्षेत्रमा देखिएका समस्यामा चन्द्रकिशोरले लेखनमार्फत सन्तुलित विचार व्यक्त गर्दैआएको र यसले समाजमा एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको पनि गठीले बताएको छ ।

सेवा गुठीका कोषाध्यक्ष थापाले भन्नुभएको छ, ‘चन्द्रकिशोरले आफ्नो लेखबाट राष्ट्रिय आत्मसम्मानको भावना अभिवृद्धि गर्दै समग्र मधेस, पहाड, हिमाल अनि तत–तत् ठाउँमा बसोबास गर्ने आमनेपालीहरुको भाषा, साहित्य, संस्कृतिलाई उजिल्याउने जुन प्रयास गर्दै आउनुभएको छ, त्यसको सेवा गुठी परिवार उच्च कदर गर्दछ ।’
यही साउन ११ गते काठमाडौं कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच चन्द्रकिशोरलाई सो पुरस्कार प्रदान गरिने बताइएको छ । त्यति नै राशीको अर्को पुरस्कार सोही समारोहमा डा. सन्दुक रुइतलाई प्रदान गरिने पनि बताइएको छ ।

Leave a Reply