वीरगञ्ज । प्रतिवन्धित लागुऔषध सहित दुईजना भारतीय महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट दुईजना महिलालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरी चौकी ईनर्वा र लागुऔषध नियन्त्रण व्यूरो शाखा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत विहार पूर्वी चम्पारण जिल्ला रामगढवाकी ४३ वर्षीया रुकसाना खातुन र सोही ठाँउकी २० वर्षीया अप्साना खातुन रहेका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले बताउनुभयो ।भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा उनीहरुबाट भारी मात्रामा लागुऔषध भएकोले नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार रूकसानाको साथबाट फागुऔषध बुपरिनुर्फिन १४८ एम्पुल, डाइजिपाम १४९ एम्पुल र फेनारगन १३९ एम्पुल बरामद गरेको छ । यस्तै अप्सानाले सेतो टेपले बेरी आफुले लगाएको सुरुवालले छोपेर लुकाईछिपाई राखेको अवस्थाबाट बुपरिनुर्फिन १४८ एम्पुल, डाइजिपाम १४७ एम्पुल र फेनारगन १४७ एम्पुल गरी दुवैजनाको साथबाट जम्मा ८ सय ७८ एम्पुल लागुऔषध फेला पारेको प्रहरी बताँउछ ।पक्राउ परेका उनीहरुमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

















